काठमाडाैं- डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिक अझै तीन हप्ता नलगाइने भएको छ। आफ्ना घरेलु विज्ञहरूको सुझावका आधारमा सरकारले स्थगनलाई निरन्तरता दिने निर्णय गरेको हो।
रगत पातलो बनाउनेलगायतका समस्या देखिएको भन्दै खोपप्रति आशङ्का उत्पन्न भएपछि डेनमार्कमा खोप लगाउने अभियान स्थगित गरिएको थियो। खोप लगाउने अभियान थप तीन हप्ता स्थगन गर्ने निर्णय बिहीबार भएको अधिकारीहरूले जानकारी दिएका छन्।
खोपको गुणस्तर, प्रभावकारिता र उपयोगिता माथि शङ्का गर्दै खोप लगाउने अभियान स्थगन गर्ने डेनमार्क नै पहिलो मुलुक हो। डेनमार्कले मध्य मार्चमा स्थगत गरेपछि अरु धेरै देशहरूले पनि खोप लगाउने अभियान स्थगन गरेका थिए।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायतका धेरै अन्तर्राष्ट्रिय निकाय र पछिल्ला विभिन्न अध्ययनहरुले समेत खोपप्रति शङ्का गर्नु आवश्यक नरहेको बताउदै आएका छन्।
यद्यपि कतिपय देशहरूले अहिले पनि खोप लगाउन फेरि सुरु गरेका छैनन् भने कतिपय देशहरूले पहिला स्थगन गरेपनि अहिले फेरि खोप लगाउन थालेका छन्।
‘हामीले आगमी तीन हप्ता अर्थात अप्रिल १८ सम्म खोप अभियानलाई स्थगित नै राख्ने निर्णय गरेका छौँ,’ डेनमार्कका उच्च स्वास्थ्य अधिकारी सोरेन ब्रोस्टर्मले भने।
डेनमार्कमा अहिलेसम्म दुई लाख २७ हजार ८९४ जना कोरोना सङ्क्रमित छन् भने दुई हजार ४०५ जनाको कारोनाका कारण मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।