काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ता टोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्।
थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आव्हानमा केही दिनदेखि माइतीघर मण्डलमा धर्नामा बसेका थारु अगुवाहरुलाई भेट्न पुगेका गृहमन्त्री थापाले सरकार र संघर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताएका हुन्।
त्यसका लागि सरकारले छिट्टै वार्ता टोली गठन गर्ने र संघर्ष समितिबाट पनि धर्नालाई रोकेर वार्ता टोली बनाएर आउन आग्रह गरे।
गृहमन्त्री थापाले टिकापुर घटनाका कतिपय विषयहरु राजनीतिक रुपले हल गर्न सकिने र कतिपय कानुनी तथा प्रशासनिक रुपबाट हल गर्न सकिने बताए।
पूर्वसांसद रुकमणी चौधरीले धर्नाको पाँचौ दिनमा गृहमन्त्री आफैं आएर मागहरुको सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताइन्। उनले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने लगायतका १९ बुँदे माग राखिएको बताइन्।
थारु अगुवाहरूले २०७२ सालमा भएको टीकापुर घटनामा फैजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाईको माग गर्दै आइतबारदेखि माइतीघर मण्डलामा धर्ना दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।