काठमाडौं- ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगितामा आयोजक नेपाल र किर्गिस्तानको यु-२३ टिमले बराबरी खेल्दै अंक बाँडेका छन्। योसँगै बंगलादेश ‘थ्री नेसन्स कप’को फाइनलमा प्रवेश गरेको छ। लिग चरणको अन्तिम खेलमा नेपालले शनिबार बंगलादेशसँग खेल्नेछ।
खेलको चौथो मिनेटमै तेज तामाङको क्रसमा अन्जन विष्टले हानेको हेड बलले पोष्टको दिशा लिन सकेन। १० औं मिनेटमा अनन्त तामाङले पाएको हेड बल, १४ औं मिनेटमा पोलमा लागेर फर्किएको बल, २९ औं मिनेटमा अभिषेक रिजालको ओभरहेड किक र ३३ औं मिनेटमा रवि पासवानको क्रसमा अन्जनले बाहिर हानेको बल नेपालको राम्रो मुभ थियो। तर कुनै पनि अवसरमा गोल हुन सकेन।
पहिलो हाफमा नै आधा दर्जन जति अवसर पाउँदा गोलविहीन बनेको नेपालले दोस्रो हाफमा पनि गोल गर्ने राम्रो अवसर निकालेको थियो। ४९ औं मिनेटमा तेजको हेड किर्गिस्तानका गोलकिपर प्रियादकिन अर्तेमले बचाए।
५९ औं मिनेटमा त्रिदेवको स्थानमा सुजल श्रेष्ठ मैदान छिरेका थिए। त्यसपछि पनि नेपालले पाएको अवसरहरु सदुपयोग गर्न सकेन। खेलको ६२ औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा अन्जनको हेड बल आउट गयो। त्यसको दुई मिनेटपछि रन्जितकै फ्रिकिकमा अन्जनले हानेको बल बाहिरियो।
खेलको ६७ औं मिनेटमा कीर्गिस्तानका तासिभ कामोलिदिनले अभिषेकलाई लडाउँदा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए। योसँगै १० खेलाडीमा सीमित बनेको किर्गिस्तान थप दबाबमा परेको थियो। तर नेपालले पुनः अवसर सदुपयोग गर्न सकेन।
७३ औं मिनेटमा रन्जितको गम्भिर गल्तिलाई नेपालका गोलकिपर कप्तान किरणले बचाएका थिए। रन्जितले दिएको ब्याक पास किरणले गोललाइनबाट बचाएका हुन्।
७४ औं मिनेटमा नेपालले दुई खेलाडी परिवर्तन गर्यो। अन्जनको स्थानमा दर्शन गुरुङ र अभिषेकको स्थानमा भरत खवास परिवर्तन भए। नेपालको लगातारको गोलको कमजोरी त्यसपछि पनि सुधार हुन सकेन। ७५ औं मिनेटमा दिनेशको क्रस पासमा सुजलले डिबक्समा पाएको फ्रि बलमा गोल गर्न सकेनन्।
८६ औं मिनेटमा सन्जोगको स्थानमा विशाल राई र रन्जितको स्थानमा निशान खड्कालाई परिवर्तन गरिए। निशानको राष्ट्रिय टिमको जर्सीबाट पहिलो खेल हो। त्यसपछि पनि नेपालले राम्रो गोल गर्ने आधा दर्जन अवसर खेर फाल्यो। १० जनामा सीमित कीर्गिस्तानविरुद्ध गोलको अवसर सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमा रोकिएको हो।
मंगलबार भएको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानको यु-२३ टिमलाई १–० गोलले पराजित गरेको थियो। नेपाल र किर्गिस्तानबीच कुन टिम फाइनलमा पुग्ने हो त्यसको टुंगो भने अन्तिम खेलबाट छिनोफानो हुनेछ।
अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।