काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नाे टाेलीले गोल गर्ने धेरै अवसर पाएपनि फिनिसिङ लाइनमा चुकेको स्वीकारेका छन्। थ्री नेसन्स कपअन्तर्गत किर्गिस्तानसँगको बराबरी नेपालले खेलेपछि प्रशिक्षक महर्जनले नेपालले निकै राम्रो खेलेको प्रतिकृया दिए।
घरेलु मैदान दशरथ रंगशालामा बिहीबार भएकाे खेलमा नेपालले खेलअवधिभर किर्गिस्तानलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायाे। किर्गिस्तानसँग घरेलु टाेलीले बराबरी खेलेपनि सन्तुष्ट रहेको प्रशिक्षक महर्जनले बताए। ‘धेरै वर्षपछि रंगशालामा राष्ट्रिय टिमले खेलेको छ। खेलाडीको प्रदर्शनमा म सन्तुष्ट छु। तीन महिनादेखि अभ्यास गरेपनि मैत्रीपूर्ण खेल भएको थिएन,’ उनले भने।
गोल गर्ने अवसर धेरै पाएपनि अवसर सदुपयोग गर्न नसकेको उनले भनाइ छ। ‘स्कोर निस्केन। हामीले धेरै अवसर पायौं। आगामी खेलमा त्यसलाई सुधार गर्दै गोल गर्ने प्रयास गर्नेछु। गोल गर्न नसकेको पक्कै हो,’ उनले थपे, ‘मैले छानेको टिम एकदम राम्रो छ। पहिलो खेल हो। सुधार गर्दै जाने हो। सुधार गर्नु पर्ने कुरामा म तयार छु। हामीले दबाबमा दिएर खेल्यौं। फरवार्ड र मिडफिल्डरले अलिकति धैर्यता नदिँदा गोल गर्न चुक्यौं की जस्तो लाग्छ।’
पहिलो हाफमा नै आधा दर्जन जति अवसर पाउँदा गोलविहीन बनेको नेपालले दोस्रो हाफमा पनि गोल गर्ने राम्रो अवसर निकालेको थियो। ४९ औं मिनेटमा तेजको हेड किर्गिस्तानका गोलकिपर प्रियादकिन अर्तेमले बचाए। ५९ औं मिनेटमा त्रिदेवको स्थानमा सुजल श्रेष्ठ मैदानमा छिरे। त्यसपछि पनि नेपालले पाएको अवसरहरु सदुपयोग गर्न सकेन। खेलको ६२ औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा अन्जनको हेड बल आउट गयो।
खेलको ६७ औं मिनेटमा किर्गिस्तानका तासिभ कामोलिदिनले अभिषेकलाई लडाउँदा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए। योसँगै १० खेलाडीमा सीमित बनेको किर्गिस्तान थप दबाबमा परेको थियो। तर नेपालले पुनः अवसर सदुपयोग गर्न सकेन। १० जनामा सीमित किर्गिस्तानविरुद्ध गोलको अवसर सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमा रोकिएको हो।
मंगलबार भएको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानको यु–२३ टिमलाई १–० गोलले पराजित गरेको थियो। नेपाल र किर्गिस्तानले बराबरी खेलेसँगै बंगलादेश भने फाइनलमा प्रवेश गरेको छ। अब नेपाल र किर्गिस्तानबीच एक टिम फाइनल प्रवेश गर्नेछ। त्यसको टुंगो भने नेपाल र बंगलादेशबीचको खेलले लाग्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।