काठमाडौं–महानगरीय प्रहरी वृत्त कालिमाटीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
कलंकीबाट मकवानपुरगढी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुरबाट रौतहटको गुजरा नगरपालिका–३ घर भएका ३५ वर्षीय गनबहादुर लोप्चनलाई बुधबार पक्राउ गरेको हो।
उनीहरुबाट १ हजार दरका ५१ थान, ५ सय दरका ५७ थान, १ सय दरका २ थान नोट बरामद भएको छ।
त्यसैगरी पिन्टर मेशिन १ थान, फोटोकपी पेपर, पेपर कटर, मोबाइल ल्यापटप, प्रिन्टर मसी पनि बरमद भएको छ। कलंकी फुटपाथमा तरकारी किन्ने क्रममा मायाले नक्कली नोट दिएको भन्ने सूचना आएपछि कालिमाटी प्रहरीले अनुसन्धान अघि बढाएको थियो। त्यसपछि माया पक्राउ परेकी थिइन्।
उनकै बयानका आधारमा प्रहरीले कीर्तिपुरबाट लोप्चनलाई पक्राउ गरेको हो । लोप्चनले आफ्नो कोठामा मेशिन राखेर नक्कली नोट बनाउने गरेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।