काठमाडौं- नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ। आउँदो चैत्र १५ देखि १८ गतेसम्म आयोजना हुने भनिएको च्याम्पियनसिप कभर्डहलको व्यस्ततालगातका कारणले प्रतियोगिताको मिति सार्नु परेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराएका छन्। अब च्याम्पियनसिप वैशाख ४ देखि ८ गतेसम्म हुने भएको छ।
दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रित युगल, ब्वाइज तथा गर्ल्स यु-१७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा हुनेछ। र्याङकिङ प्रतियोगितासमेत रहेको च्याम्पियनसिपमा जिल्ला ब्याडमिन्टन संघ र आबद्ध हुन बाँकी जिल्ला, विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफल क्बलका खेलाडीले सहभागिता जनाउने छन्।
करिब २७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शीर्ष तीन विजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय रुपैयाँ पाउने छन्। त्यस्तै, युगलतर्फका शीर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै यु-१७ ब्वाइज तथा गर्ल्सका शीर्ष तीन विजयीले नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाउने छन्।
विश्व ब्याडमिन्टन महासंघको नियमानुसार खेलाइने च्याम्पियनसिपका लागि प्रत्येक जिल्लालाई पुरुष तथा महिला शीर्ष १६ वरीयताबाहेक २ पुरुष र २ महिला कोटा प्रदान गरिएको छ। त्यस्तै यु-१७ तर्फ पनि प्रत्येक जिल्लाका लागि २ ब्वाइज र २ गर्ल्सको कोटा प्रदान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।