कैलाली- भारतमा कोरोनाभाइरसको संक्रमण पुनः बढ्न थालेपछि मजदूरीका लागि भारतमा रहेका सुदूरपश्चिमेलीहरू स्वदेश फर्किन थालेका छन्। पछिल्ला केही दिनयता भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षित स्थानको खोजी गर्दै सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट स्वदेश फर्किने नेपालीको घुइँचो लाग्न थालेको छ।
बुधबार सीमा नाका गौरीफन्टाबाट सयौँको संख्यामा स्वदेश भित्रिएका छन्। रोजगारीका लागि भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना संक्रमण फैलिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ।
भारतबाट फर्किएका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्दा बुधबार बिहान मात्रै कैलालीका दुई जनामा कोरोना संक्रमण देखिएको नाकामा खटिएका अहेव गणेशबहादुर साउदले बताए। उनका अनुसार जनशक्ति कम भएकाले सबैको स्वास्थ्य जाँच गर्न सकिएको छैन।
त्यस्तै, हिजो मात्र सोही नाका भएर फर्केका कैलालीका ११ जनामा कोरोना संक्रमण देखिएको थियो। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका चारवटा नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गर्न सम्बन्धित स्वास्थ्य कार्यालयहरूलाई परिपत्र गरेको छ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएको हेल्थ डेस्कमार्फत् एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।