काठमाडाैं- अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले रुसबाट जर्मनीसम्म बिस्तार गरिएकाे नोर्ड स्ट्रीम २ पाइपलाइन युरोपेली संघ (ईयू)को हितविपरीत रहेको बताएका छन्।
मंगलबार नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँगको भेट गर्दै उनले यसले युक्रेनलाई अवमूल्यन गर्न सक्ने बताए। ‘यो पाइपलाइन युरोप, अमेरिका र युरोपेली संघकै सुरक्षा लक्ष्यको विपरीत छ। यसले युक्रेन, पोल्यान्ड र अन्य निकटका साथी र साझेदारको हितलाई अवमूल्यन गर्ने सम्भावना छ,’ उनले भने।
अमेरिकाले विरोध गरिरहेको भए पनि जर्मनीले पाइपलाइनको काम ९५ प्रतिशत सकिसकेकाे जनाएकाे छ। यस्तै बाँकी ५ प्रतिशत सेप्टेम्बर महिनासम्ममा सकिने लक्ष्य रहेकाे छ।
नोर्ड स्ट्रीम २ ले पश्चिमी साझेदार युक्रेनलाई बाइपास गर्नेछ र ट्रान्जिट फीबाट वञ्चित गर्नेछ । यसले रुसमा युरोपको ऊर्जा निर्भरतालाई थप बढाउनेछ अनि अमेरिकाको एलएनजीसँग प्रतिस्पर्धा गर्नेछ । यसैकारण अमेरिकाले याे पाइपलाइनकाे विराेध गर्दै आएकाे छ।
नोर्ड स्ट्रीम २ परियोजनामा सहभागी हुने कम्पनीमाथि प्रतिबन्ध लगाउन वाशिङटनलाई एक अमेरिकी कानूनले बाध्य बनाउने पनि परराष्ट्रमन्त्री ब्लिन्केनले चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।