कैलाली- कैलालीको लम्कीमा प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएकामध्ये एकजनालाई थप उपचारका लागि काठमाडौं पुर्याइएको छ।
पेटमा गोली लागेर गम्भीर घाइते भएका लम्किचुहाका ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलीकप्टरमार्फत् थप उपचारका लागि काठमाडौं लगिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए।
यसअघि घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि उनलाई हेलीकप्टरमार्फत् काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
त्यस्तै, अर्का घाइते १८ वर्षीय दिपक सन्ज्यालको भने नेपालगञ्जमै उपचार भइरहेको उनले बताए। मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकस्थित् टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएपछि आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए।
स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरेका गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए। उनीहरूले प्रहरीमाथि आक्रमण गर्न थालेपछि हवाई फायर गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, अनुपम शमशेर जबराले स्थानीयको आक्रमणबाट केही प्रहरी समेत घाइते भएको बताए। अहिले मृतकको शव टीकापुर अस्पताल लगिएको छ। प्रहरीले सामान्य बल प्रयोग गरेर बाटो खुलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।