काठमाडौं- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले संसद् भवनमा यौनजन्य क्रियाकलाप हुनु आश्चर्यजनक र घृणित भएको बताएका छन्। सोमबार टेन नेटवर्क टेलिभिजन न्यूजले अष्ट्रेलियाको संसद् भवनभित्रैको यौनजन्य गतिविधि भएको भिडियो सार्वजनिक भएपछि उनले उक्त प्रतिकृया दिएका हुन्।
टेन नेटवर्क टेलिभिजन न्यूजले केही सरकारी कर्मचारीहरुले फेसबुकको म्यासेन्जरमा एउटा ग्रुप बनाएको र उक्त ग्रुपमा उनीहरुले संसद् भवनमा भएका यौनजन्य क्रियाकलापको तस्वीर तथा भिडियो शेयर गरेको समाचार प्रशारण गरेको थियो।
जसमा एक महिला सांसदको कार्यकक्षमा कैद गरिएको भिडियो पनि थियो। समाचारमा बताइएअनुसार एक भिडियोमा पूर्व सरकारी कर्मचारीले संसद् भवनको प्रार्थनास्थललाई मानिसहरुले यौनजन्य गतिविधिको लागि प्रयोग गर्ने गरेको बताएका थिए। बाहिरबाट यौनकर्मीहरुलाई पनि संसद् भवनमा ल्याइने गरेको उनले दाबी गरेका छन्।
मौरिसनले यौनजन्य क्रियाकलापको आरोप लागेका संसद् भवनमा एक सदस्यलाई कामबाट निकालिएको समेत जानकारी दिएका छन्।
‘यौनजन्य क्रियाकलापको आरोप लागेका संसद् भवनमा एक सदस्यलाई कामबाट निकालिएको छ। तर, संसद् भवनभित्र हुने यौनजन्य क्रियाकलाप तत्काल रोकिनुपर्छ,’ उनले भनेका छन्।
यससँगै अष्ट्रेलियाको संसद् भवनभित्रको संस्कारको विषयमा पनि प्रश्न उठेको छ। गत महिना संसद् भवनकी एक महिला कर्मचारीले आफ्ना सहकर्मीले आफूलाई संसद् भवनभित्रै बलात्कार गरेको आरोप लगाएकी थिइन्।
‘ममाथि दुई वर्षअघि यो घटना घटेको थियो। तर, प्रहरीमा उजुरी नदिन मलाई दबाब दिइन्थ्यो,’ उनले भनेकी थिइन्।
त्यसपछि अन्य केही महिलाले पनि आफ्नो मुख खोलेका थिए। जसमा केही शीर्ष सरकारी अधिकारीमाथि पनि बलात्कारको आरोप लागेको थियो।
अष्ट्रेलियाका वित्त मन्त्री सिमोन ब्रिमिङघमले घटनाको छानबिन भइरहेको जानकारी दिए। ‘सोमबार सार्वजनिक भएको मिडिया रिपोर्टको विषयमा अनुसन्धान भइरहेको छ,’ उनदले भने,‘ संलग्नहरुलाई आवश्यक कारबाही गर्ने छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।