काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव–डिभिजन वन कार्यालय, तारानगर, कैलालीले ट्रयाक्टरका चालकसहित काठ बरामद गरेको मुद्दा मिलाउन भनि ८० हजार घुस लिएको आरोपमा रेन्जरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बरामद भएको रकम जफत, सोही बराबर जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा चलाएको हो। वन कार्यालयका रेन्जर रामऔतार चौधरीले सेवाग्राहीसँग घुस लिँदै गर्दा आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो।
यस्तै, विचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पनि अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा रेन्जर (अधिकृत छैठौं) चौधरीले सेवाग्राहीको मुद्दामा सहजीकरण गरिदिने प्रयोजनार्थ घुस लिएको पुष्टि भएपछि दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आयोगले अभियोगपत्र दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।