काठमाडौं– बंगलादेशको दक्षिणी भागमा रहेको रोहिज्या शरणार्थी शिविरमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ। सोमबार कक्स बजार क्षेत्रमा निर्माण गरिएको बालुखली शिविरमा आगलागी हुँदा अस्थायी टहरा जलेर उनीहरुको मृत्यु भएको हो।
आगोलागीमा परी ४०० भन्दा बढी रोहिज्या हराइरहेको संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीले जनाएको छ।
‘यो विशाल छ, यो विनाशकारी छ,’ राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) का जोहान्नेस भान डेर क्लाउले भने, ‘४०० भन्दा बढी अझै हराइरहेका छन्।’
बंगलादेश प्रहरीका एक वरिष्ठ अधिकारी जाकिर हुसेन खानले उक्त आगलागीमा मृत्यु भएकामध्ये तीनजना बालबालिका रहेको बताए। सोमबार चार शव निकालिएको छ।
यता संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीका प्रवक्ता लुइस डोनोभनले भने घटनाको खबर पाउने बितिकै उद्धार टोलीहरू खटाइएको कसैको मृत्यु नभएको दावी गर्दै आएका थिए।
आगोलागीमा परि ६० जना घाइते भएको र ४५ सयभन्दा बढी बिस्थापित भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसले जनाएको छ। अझैसम्म पनि आगलागीको कारण भने खुलेको छैन। प्रहरीले अहिले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ।
सोमबारको आगलागी उक्त क्षेत्रमा रहेका करिब एक चौथाइ शरणार्थीको बसोबास रहेको क्षेत्रमा फैलिएको थियो। यी शिविरमा म्यानमारबाट आएका लाखौं शरणार्थीहरू बसिरहेका छन्।।
सन् २०१७ मा म्यानमारबाट भागेका लाखैं रोहिज्या शरणार्थीहरू कोक्स बजार र वरपरका शिविरहरूमा बस्छन्। संयुक्त राष्ट्र संघ र धेरै मुस्लिम देशहरूले उनीहरूलाई मद्दत गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।