काठमाडाैं- नाइजरको दक्षिण पश्चिम क्षेत्रमा अपरिचित बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा ६० जनाकाे मृत्यु भएकाे छ। रोयटर्सका अनुसार नाइजरको तहोउवा क्षेत्रको तीन गाउँमा स्थानीय समय अनुसार आइतबार राति अपरिचित बन्दुकधारीहरूले आक्रमण गर्दा उनीहरूको मृत्यु भएको हो।
यता टिलियाका मेयर अल्फोजाजी इसिन्टागले कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यद्यपि मृतक संख्याबारे अझै यकिन नभएको उनको भनाइ छ।
उक्त क्षेत्र मालीसँग सीमा जोडिएको छ। प्रहरीले भने आक्रमणमा इस्लामिक स्टेट आईएसको हात रहेको दाबी गरेको छ।
'ठूलो संख्यामा मोटरसाइकलमा आएका आक्रमणकारीहरुले घरघरमा आगजनी गरेका थिए। आगजानीका कारण कतिपय घरहरु जलेका छन्,' नाम सार्वजनिक नगरिदिने सर्तमा एक सुरक्षा अधिकारीले भने।
उक्त क्षेत्रमा आईएसले विभिन्न आतंकवादी गतिविधि गर्दै आएको छ। पछिल्लो समय नाइजरमा हिंसात्मक घटना उल्लेख्य मात्रामा बढेका छन्। घटना भएका क्षेत्रमा गत हप्ता पनि शंकास्पद आतङ्कवादीहरुले आक्रमण गर्दा ५८ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।