काठमाडौं- पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सामाजिक सञ्जालमा फर्किंदै छन्। तर, अहिले चलेका चलिरहेका कुनै पनि सञ्जालमा होइन, उनी आफ्नै नयाँ ‘प्लेटफर्म’ लिएर आउन लागेका हुन्।
ट्रम्पका प्रवक्ता जेसन मिलरले आइतबार फक्स न्युजको ‘मिडिया बज’ मा कुरा गर्दै उक्त जानकारी दिएका हुन्। ‘पूर्वराष्ट्रपति ट्रम्प सम्भवतः दुई वा तीन महिनामा सामाजिक सञ्जालमा फर्कनुहुनेछ,’ उनले भनेका छन्, ‘उहाँ आफ्नै प्लेटफर्मसहित फर्कनुहुनेछ, जसले दसौं लाख नयाँ प्रयोगकतालाई आकर्षित गर्नेछ र खेलकुदलाई पूर्णतः पुनर्भाषित गर्नेछ।’
प्रवक्ता मिलरले ट्रम्पलाई नयाँ प्लेटफर्म सञ्चालनका लागि थुप्रै कम्पनीहरूले प्रस्ताव गरेको र त्यसबारे उनले आफ्नो टिमसँग छलफल गरिरहेको बताएका छन्।
‘यो त्यस्तो प्लेटफर्म, मलाई लाग्छ सामाजिक सञ्चालनमा सबैभन्दा ‘हट’ टिकट बन्नेछ,’ मिलरले भनेका छन्, ‘सबैजना राष्ट्रपति ट्रम्पले के गर्छ भनेर हेर्न पर्खिरहेका छन्।’
ट्विटरलगायत प्लेटफर्मले स्थायी प्रतिबन्ध लगाएपछि ट्रम्प आफैंले नयाँ प्लेटफर्म ल्याउन लागेका हुन्। गत जनवरीमा अमेरिकाको संसद्भवनमा ट्रम्प समर्थकले गरेको हिंसात्मक प्रदर्शनपछि ट्विटरसहित अन्य सामाजिक सञ्जालले ट्रम्पमाथि स्थायी प्रतिबन्ध लगाएका थिए। ट्रम्पले आफ्ना समर्थकलाई हिंसात्मक प्रदर्शनका लागि उक्साएको भन्दै प्रतिबन्ध लगाइएको थियो।
‘यो नयाँ प्लेटफर्म ठूलो हुनेछ,’ मिलरले आइतबार भने, ‘सबैजना ट्रम्पलाई चाहन्छन् र उहाँले यस प्लेटफर्ममा लाखौं-कराडौंलाई ल्याउनुहुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।