काठमाडाैं- महिला सहकर्मीलाई मेसेन्जरमा अश्लील भिडियो पठाउने सिन्धुपाल्चाेकका सहायक वन अधिकृतलाई पचास हजार रूपैयाँ जरिवाना भएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको इजलासले डिभिजन वन कार्यालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सहायक वन अधिकृत तुलाराम घिमिरेलाई पचास हजार रूपैयाँ जरिवानाको सजाय गरेको हो।
यसरी जरिवाना गरिएकाे रकम पीडित महिलालाई क्षतिपूर्ति स्वरुप दिनुपर्ने गरी फैसला सुनाइएकाे हाे।
सहायक वन अधिकृत घिमिरेले ती महिला कर्मचारीलाई फेसबुक मेसेन्जरमा पटक पटक फोन गर्ने र अश्लील मेसेज पठाउने गरेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो। प्रमुख जिल्ला अधिकारी ढकालको इजलासले गएको कात्तिकमा सुनाएको फैसला हालै मात्र सार्वजनिक भएको हो।
अर्धन्यायिक निकायको अधिकार प्रयोग गर्दै सिडिओले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१ को धिकार प्रयोग गर्दै यस्तो आदेश गरेका हुन्। उक्त ऐनको दफा ४ मा यस्तो कसूरजन्य कार्य भएको देखिएमा ६ महिना कैद वा ५० हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ।
के थियो घटना?
उजुरीमा उल्लेख भएअनुसार डिभिजन वन कार्यालय सिन्धुपाल्चोकमा कार्यरत घिमिरेले ती महिला सहकर्मीलाई मेसेन्जरमा पटक पटक फोन गर्ने गरेका थिए।
गएको साउन १३ गते दिउँसो २ बजे पनि घिमिरेले ती महिला कर्मचारीलाई त्यसैगरी फोन गरेका बताइएको छ। कार्यालयको कामले भिडियो कल गरेको होला भनी उठाउँदा घिमिरेले अश्लील क्रियाकलाप देखाएको महिला कर्मचारीले बताएकी छन्। अश्लील क्रियाकलाप देखाएपछि घिमिरेले महिला कर्मचारीसँग च्याटमा माफी मागेका थिए।
तर, घिमिरको उक्त कार्यविरुद्ध ती कर्मचारीले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार ऐन २०७१ अनुसार कारबाही माग गर्दै निवेदन दिइन्। निवेदनपछि सहायक वन अधिकृत घिमिरेलाई विभागगी कारबाही गर्दै हेटौँडा सरुवा गरिएको थियो। तर, विभागीय कारबाहीले मात्र नहुने भन्दै महिला कर्मचारीले सिडिओ कार्यालयमा समेत उजुरी गरेकी थिइन्।
उजुरीमा अन्तिम निर्णय सुनाउँदै सिडिओ ढकालको इजलासले जरिवाना गर्ने फैसला सुनाएको हो। कार्यस्थलमा हुने यौनजन्य घटनालाई गम्भीर रुपमा लिँदै उनलाई सजाय गर्ने निर्णय गरेको आदेशको पूर्णपाठमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।