काठमाडौं- दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लबले विमान ट्रेडर्स विर्तामोडसँग प्रतिस्पर्धा गर्ने भएको छ।
इलामको ठूलो टुँडिखेलमा भएको सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। आर्मीले पुलिसलाई ३-१ ले हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो। आर्मीले पुलिसलाई १९-२५ २५-२२, २५-१५ र २५-२० ले हराएको हो।
यसअघि आर्मी तीन खेलमा शतप्रतिशत जित निकाल्दै ७ अंक बनाएर सेमिफाइनलमा पुगेको थियो। पहिलो खेलमा विमान ट्रेडर्स विर्तामोडलाई ३-२ ले पराजित गरेको आर्मीले दोस्रो खेलमा गौरादह नगर खेलकुद विकास समितिलाई ३-२ र लिगको अन्तिम खेलमा साविक विजेता गण्डकी प्रदेशलाई ३-१ ले पराजित गरेको थियो।
त्यस्तै, दोस्रो सेमिफाइनलमा भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनायो। ट्रेडर्स विर्तामोडले एपिएफलाई २७-२५, २५-२० र २५-२२ ले हराएको हो।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।