काठमाडाैं- अमेरिकाले विभिन्न देशहरुलाई उक्साएर आफूमाथि ‘आक्रमण’ गर्न लगाएको चीनले आरोप लगाएको छ। जो वाइडेन सत्तामा आएपछि पहिलोपटक अलास्कामा भएको वार्तामा चिनियाँ अधिकारीहरुले अमेरिकाले उक्साएर चीनमाथि आक्रमण गर्न लगाएको आरोप लगाएका हुन्।
वार्तामा अमेरिकाका तर्फबाट विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहका जेक सुलिभान तथा चीनको तर्फबाट विदेश मामिला आयोगका निर्देशक याङ जेइची र स्टेट काउन्सिलर वाङ यी सहभागी छन्।
‘अमेरिकाले क्षेत्राधिकारबाहिर रहेर आफ्नो सैन्य तथा आर्थिक शक्ति अरु देशहरुलाई दबाउन प्रयोग गरेको छ। व्यापारमा अवरोध गर्न र अन्य मुलुकलाई चीनमाथि आक्रमण गर्न बाध्य बनाउन राष्ट्रिय सुरक्षाको हतियार प्रयोग गरेको छ,’ चिनियाँ प्रतिनिधि याङले भने।
उनले अमेरिकामा विद्यमान जातिवाद, एकतर्फी र मिचाहा व्यवहार रहेको भन्दै आफ्नो छवि परिवर्तन गर्न आवश्यक रहेको पनि बताए।
‘अमेरिकाले आफ्नो छवि परिवर्तन गर्नु महत्वपूर्ण छ। र आफ्नो लोकतन्त्रलाई बाँकी विश्वमा लाद्न छोड्नुपर्छ,’ उनले भने, ‘वास्तवमा अमेरिकामै थुप्रै मानिसलाई अमेरिकाको लोकतन्त्रमा निकै कम विश्वास छ।’
यता राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले अमेरिका कहिल्यै पनि चीनसँग तनावको अवस्था सिर्जना होस् भन्ने पक्षमा नरहेको बताए। ‘हामी चीनसँग तनावको अवस्थामा सिर्जना होस् भन्ने चाहेका छाैं तर, आफ्ना नागरिक का लागि अडिग भएर लाग्छौं,’ उनले भने।
वार्ता करिब एक घण्टाभन्दा बढि चलेको थियो। अधिकांश समय आरोप–प्रत्यारोपमा बितेपनि वार्ता सकारात्मक रहेको दाबी गरिएको छ।
डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिका र चीनबिचको सम्बन्ध सबैभन्दा खराब अवस्थामा पुगेको थियो। यो वार्ताले दुई मुलुकबीच केही वर्षयता तिक्त बनेको सम्बन्ध सुधार्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।