काठमाडाैं- बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीका म्यानमार संवाददाता बेपत्ता भएका छन्। शुक्रबार संवाददाता अउङ थुरा म्यानमारको राजधानी नेपिडोबाट बेपत्ता भएकाे बीबीसले जनाएकाे हाे।
‘अपरिचित व्यक्तिहरूले हाम्रा संवाददाता थुरालाई नियन्त्रणमा लिएको सूचना प्राप्त भएको छ। उनको खोजीका लागि सबै प्रयास गरिरहेका छौं,’ बीबीसीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ।
उनलाई तत्काल सुरक्षित रूपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सबै सरोकारवालालाई आह्वान गरेको छ। यता स्थानीय मिज्जीमाका संवाददाता थान हटिक अउङ पनि बेपत्ता भएका छन्। उनलाई पनि अपहरण गरिएको बताइएकाे छ।
फ्रेबुअरी १ मा सैन्य शासन लागू भएदेखि सेनाले लगातार मिडियामाथि हमला गर्दै गएको छ। यसअगाडि पनि सेनाले सैन्य ‘कू’विरुद्ध गरिएको प्रदर्शनलाई कभर गरेको भन्दै म्यान्मार नाउ, खित थित मिडिया, डेमोक्र्याटिक भ्वाइस अफ बर्मा, मिज्जीमा र सात दिनको प्रशारण अनुमतिपत्र खारेज गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।