काठमाडाैं- धादिङमा एक महिलालाई जिउँदै पुरेर फरार भएका स्काभेटर चालकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्काभेटर चालक भीमबहादुर बुढाथोकीलाई शुक्रबार पक्राउ गरेको हो।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यान्टारकी ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै खाल्डोमा पुरेर उनी फरार भएका थिए। ती महिलालाई खाल्डोबाट मृत अवस्थामा निकालिएको थियो।
बाटो खन्ने क्रममा सुरुमा स्काभेटरले ठक्कर दिएर घाइते बनाएको र पछि खाल्टो खनेर पुरेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयले स्काभेटरमा तोडफाेड तथा आगजनीसमेत गरेका थिए।
एक्स्काभेटर चालक बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएको स्थानीयको आरोप छ।
‘एक्स्काभेटरले मान्छे पुर्यो’ भन्दै हल्ला भएपछि चालक बुढाथोकी भागेका थिए। घटनाको समयम सडक मजदुर खाना खाँदै थिए। पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।