काठमाडौं- सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘बी’को विजेता बन्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो।
बिहीबार इलामको ठूलो टुँडिखेलमा भएको खेलमा एपिएफले दमक नगर भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्यो। एपिएफले दमकलाई २५–२१, २२–२५, २५–११ र २५–१९ पराजित गरेको हो। एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो।
समूह ‘बी’मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। पुलिस १ अंकका साथ दोस्रो र दमक अंकविहीन हुँदै पुछारमा छ।
आर्मीको लगातार दोस्रो जित
जिल्ला भलिबल संघ इलामको आयोजनामा जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ। आर्मीले गौरादह नगर खेलकुद विकास समितिलाई ३–२ को सेटमा पराजित गरेको हो।
आर्मीले गौरादहलाई २५–२०, २२–२५, २३–२५, २५–१४ र १५–८ ले हरायो। पहिलो खेलमा आर्मीले विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटमा पराजित गरेको थियो। गौरादहको यो लगातार दोस्रो हार हो।
पहिलो पहिलो खेलमा गण्डकी प्रदेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। यो जितसँगै आर्मी समूह 'ए' बाट २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ। गण्डकी प्रदेश ३ अंकसहित दोस्रो स्थानमा छ।
त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा विमान ट्रेडर्स विर्तामोडले गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गरेको छ। विमानले गण्डकीलाई २५-२०, २५–२३ र २५–२३ ले पराजित गरेको हो।
भारतीय भलिबल टोलीका तीन खेलाडी सम्मिलित विमानविरुद्ध गण्डकीले राम्रो प्रतिस्पर्धा गरेपनि सेटमा जित भने निकाल्न सकेन। यसअघि बुधबार भएको आफ्नो पहिलो खेलमा विमान आर्मीसँग ३–२ ले पराजित भएको थियो। गण्डकीले गौरादह नगर खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
चैत ८ गतेसम्म चल्ने प्रतियोगितामा ७ टोलीको सहभागिता छ। लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद विकास समिति र गण्डकी प्रदेश छन्। समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन्।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।