काठमाडाैं- हलमा फ्लप भएको फिल्म ‘घर’पछि कलाकार तथा निर्देशक अर्पण थापाले अर्को हरर फिल्म ‘भूत घर’ बनाउने भएका छन्। उनले अहिले बनाउन लागेको फिल्म हरर जनरामा उनको तेस्रो फिल्म हो।
उनले यसअघि डराउने कम हँसाउने ज्यादा फिल्म सुनकेशरी बनाइसकेका छन्। दुईवटा फिल्ममा नराम्रोसँग लगानी डुबाएका उनी फेरि हरर फिल्म बनाउन कस्सिएका छन्।
‘भूत घर’ फिल्मको छायांकन पूरा भइसकेको छ। यो फिल्ममा अर्पण स्वयंले मुख्य भूमिका निर्वाह गरेका छन्। कोभिडका कारण सिर्जना भएको लकडाउनमा उनले यो फिल्मको छायांकन सक्काएका हुन्।
फिल्ममा सिर्जना रेग्मीले अर्पणलाई डराउन साथ दिएकी छन्। फिल्मको छायांकन आलोक शुक्लाले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठको छ। हरि तामाङले निमाण गरेको फिल्मलाई जिजिउ ग्रुपले वितरण गर्नेछ। फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन।
दुइचोटी दर्शक डराउन असफल भइसकेका अर्पणले यो पटक पनि डराउन नसके दर्शक हल जानै डराउलान्!, सामाजिक सञ्जालमा फिल्मबारे यस्तै प्रतिक्रिया आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।