प्रतियोगिताबारे जानकारी दिन नेपाल रिङ रेस्लिङ संघले आयोजना गरेको पत्रकार सम्मेलन। काठमाडौं- कास्कीको पोखरामा चैतको तेस्रो सातामा हुने रेस्लिङ प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लर भिड्ने भएका छन्।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा चैत २० र २१ गते रेस्लिङ प्रतियोगिता हुने भएको हो। दोस्रो संस्करणको यो प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा हुनेछ।
प्रतियोगितामा देशका विभिन्न ठाउँका चर्चित रेस्लर नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, युविएल, एससी, हुम्ली फाइटर, योगी, जोनलगाएत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। रेस्लिङमा २२ वर्षदेखि ३८ वर्ष उमेरसम्मका खेलाडीले भाग लिने संघकी महासचिव सुवर्णा श्रेष्ठले जानकारी दिइन्।
कोभिड-१९ का कारण यसपटक अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराउन नसकिएको उनले बताइन्। दुई दिन हुने रेस्लिङ प्रतियोगिता हेर्न प्रवेश शुल्क १०० र २०० रुपैयाँ तोकिएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले यो प्रतियोगिताले रेस्लिङ खेलको विकासमा सहयोग पुग्ने बताए। गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङले पोखरालाई खेलकुदको राजधानी भनिरहेकै अवस्थामा यस्ता प्रतियोगिताले थप इट्टा थप्ने काम गरेको बताए।
प्रतियोगितामा प्रथम हुने खेलाडीले एक लाख रुपैयाँसहित च्याम्पियन बेल्ट र दोस्रो हुनेले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा करिब २९ लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।