काठमाडौं- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट आन्दोलन बच्यो भने पद ठूलो कुरा नभएको बताएकी छिन्। बुधबार आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनेको कारबाहीबाट नडराउन भरोसा दिइन्।
उनले आफ्नो सम्बोधनमा कार्यकर्तालाई पटकपटक ओलीको कारबाहीबाट नडराउन आग्रह गरिन्। 'धम्कीको कुनै चिन्ता नलिनुहोला। मैले सुनेको छु, कतिपय कमरेडहरु डराउनुभएको छ रे। पदमा अप्ठ्यारो हुने हो कि भन्नुभयो रे', शाक्यले भनिन्, 'कम्युनिस्ट पार्टी बच्यो भने, कम्युनिस्ट आन्दोलन बच्यो भने पद भन्ने कुरा ठूलो कुरा होइन। पद भन्ने कुरा आइरहन्छ। तपाईं इमानदार र जनताप्रति उत्तरदायी बन्नुस्, पद आइरहन्छ।'
उनले आफूहरुले आयोजना गरेको भेला गुटको नभइ नेकपा एमालेको भएको बताइन्। साथै समय बाँकी भएकाले गत फागुन २८ गते बालुवाटारमा गरिएको निर्णय फिर्ता लिएर भेलामा उपस्थित हुन ओलीलाई आग्रह पनि गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।