काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ता तर्साउन खोजे पनि विचलित नहुने माधवकुमार नेपाल पक्षीय एमालेले प्रस्ट पारेको छ।
बुधबार र बिहीबार हुने कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता सुरेन्द्र पाण्डेले भने,‘प्रधानमन्त्रीले कार्यकर्तालाई तर्साउन खोजेर विचलित हुँदैनन्।’
प्रधानमन्त्रीले गलत कदम चालिरहेको भन्दै पाण्डेले ओली पक्षले गरेको २८ गतेको निर्णयको विरोध गरे। आफूले गलत गर्दागर्दै अरुलाई कारबाही गर्छु भन्नु नै विधानविपरीत हुने उनले बताए। ‘विधानविपरीत गर्ने अध्यक्ष पनि कारबाहीको भागीदार हुन्छ कि हुन्न?,’ पाण्डेले भने।
प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको चियापानमा बोल्नेक्रममा माधव पक्षको भेलामा सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिएका थिए।
अदालतको फैसलाले एमाले पुनः ब्युँतिएको उल्लेख गर्दै पाण्डेले शून्यबाट पार्टीका गतिविधि सुरु हुनुपर्ने बताए। ओली पक्षले गरेका निर्णय अस्वीकार गर्ने पुनः दोहोर्याउँदै उनले भने,‘अदालतले एमाले ब्युँतिएको छ। जहाँबाट ब्युँतिएको हो, त्यहीबाट आरम्भ हुनुपर्ने हो। त्यसभन्दा बाहिरको गतिविधि विधानविपरीतको हुन जान्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।