तस्बिर : निमेषजंग राई।
काठमाडाैं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको भेलाले पार्टीलाई विभाजनतर्फ धकेलेको बताएको छ।
बुधबार र बिहीबार काठमाडाैं गर्न लागिएको राष्ट्रिय भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा माधव समूहका नेताहरूले विधान बमोजिम केन्द्रीय कमिटीको बैठक आयोजना गरेर पार्टीलाई अघि बढाउनुपर्ने बताए।
राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधानसम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न गइरहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।
पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तव्यमा भनिएको छ, 'नेकपा (एमाले) पूर्ववत् अवस्थामा फर्किनु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरुको स्वतः पुन:स्थापना हो भन्ने कुरा स्पष्ट छ। यति हुँदाहुँदै पनि आफूखुशी बैठकका नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरु भइरहेका छन्। यसका विरुद्धमा हामी दृढतापूर्वक उभिएका छौं र राष्ट्रिय कार्यकर्ता भेलामार्फत् हामी यो सन्देश आधारभूत तहसम्म पुर्याउन चाहन्छौं।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।