काठमाडौं–अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले उत्तर कोरियाली सरकारसँग सम्पर्क गर्ने प्रयास असफल बनेको छ। फेब्रुअरीदेखि नै सम्पर्क गर्ने प्रयास गरे पनि हालसम्म सफल हुन नसकेकोे अमेरिकी अधिकारीहरूले बताएका छन्।
पछिल्लो समय बढ्दो तनावलाई रोक्न भन्दै वाशिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको अधिकारीहरूको भनाइ छ। उत्तर कोरियाको परमाणु कार्यक्रम र विभिन्न क्षेप्यास्त्र कार्यक्रमका कारण दुई देशबीचको सम्बन्ध लामो समयदेखि असहज रहँदै आएको छ।
अमेरिकका पूर्व वराष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच तीन पटक वार्ता भए पनि उल्लेखनीय प्रतिफल दिन सकेको थिएन। उत्तर कोरिया आणविक अस्त्र परित्याग गर्न सहमत होस् भन्ने अमेरिका र पश्चिमा मुलुकको प्रमुख चाहना रहे पनि सहमति बन्न सकेको छैन।
प्योङ्याङसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत ‘न्यूयोर्क च्यानल’ भनिने संयुक्त राष्ट्रसंघमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको थियो। बेलायती समाचार संस्था रोएटर्सका अनुसार उत्तर कोरियासँग ‘कैयौं पटक’ सम्पर्क गर्न खोजिए पनि अर्थपूर्ण सम्पर्क स्थापना हुन सकेको छैन।
बाइडनले यसअघि नै उत्तर कोरियाका लागि आफ्नो नीतिको समीक्षा गर्ने घोषणा गरिसकेका छन्। त्यस्तो समीक्षा एप्रिल महिनामा सार्वजनिक गरिने अपेक्षा छ विश्व समुदायको छ ।
उत्तर कोरियामाथिको चर्को प्रतिबन्ध खुकुलो पार्नुअघि प्योङ्याङको आणविक निरस्त्रीकरण हुनुपर्नेमा अमेरिकी जोड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।