काठमाडाैं- थाइल्याण्डले अक्सफर्ड–आस्ट्राजेनेकाको काेराेना भाइरसविरुद्धकाे खोप लगाउने अभियान पुन: सुरु गरिने भएकाे छ। थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले भोलि मंगलबारदेखि कोरोनाविरुद्धको खोप लगाएर अभियान सुरु गर्न लागेकाे बताएका हुन्।
रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाको खोप लगाउन स्थगित गरेको भन्दै थाइल्याण्डले शुक्रबार खोप अभियान स्थगित गरेको थियो।
डेनमार्क र नर्वे लगायत कतिपय युरोपेली देशहरूले यो खोप लगाउने कार्यक्रम स्थगित गरिसकेका छन्। हालसम्म ५० लाखभन्दा बढी युरोपेली नागरिकले यो खोप लगाइसकेका छन्। तीमध्ये ३० जनामा रगत जम्ने समस्या देखिएको बताइएको छ। यता बुल्गारिया, आइसल्यान्ड र नेदरल्यान्ड्सले पनि यो खोप प्रयोग नगर्ने बताएको थियो।
तर, उपप्रधानमन्त्री तथा सार्वजनिक स्वास्थ्य मन्त्री अनुतिन चार्नभिराकुलले भने खोप सुरक्षित नै रहेको दावी गरेका छन्। प्रधानमन्त्री ओचाले भोलि खोप लगाउने जनाइएकाे छ।
मन्त्रीपरिषद्का सदस्यमध्ये ६० बर्ष उमेर पुरा भएका अन्य मन्त्रीलाई पनि भोलि खोप लगाउने कार्यक्रम रहेको उनले बताए। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अस्ट्राजेनिकाको कोराेना खोपमा कुनै समस्या नरहेको दाबी गरेको छ।
स्वास्थ्यसम्बन्धी नियामक निकायहरूले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको जनाएका छन्, तर सावधानीका लागि खोप अभियानमा ढिलाई गरिएको युरोपेली मुलुकहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।