काठमाडाैं- कोरोना भाइरस महामारीपछि बन्द भएकाे श्रीलङ्काका सबै विद्यालय आगामी अप्रिलदेखि खुल्ने भएका छन्। स्थानीय सिन्हला र तमिल समुदायको नयाँ बर्षपछि अर्थात १९ अप्रिलदेखि विद्यालय खुल्ला गर्न लागिएकाे हाे।
शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरु खोल्न आवश्यक तयारी भइरहेको सोमबार जानकारी दिए। विद्यालयहरु सबै खोल्नु अगाडि सवै विद्यालयहरूलाई आधारभूत स्वास्थ्य मापदण्ड पुरा गर्न लगाइने र सञ्चालनका बेलामा ती सवै मापदण्ड पालना गर्नु पर्ने व्यवस्था गरिने भएको छ।
कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण श्रीलङ्कामा गत अक्टोबरदेखि आइतबारसम्म विद्यालयहरु बन्द गरिएको थियो। कक्षा ५, ११ र १३ सोमबारदेखि सञ्चालन गरिएको छ भने अरु कक्षा अप्रिल १९ देखि सुरु हुने सरकारी अधिकारीहरुले जनाएका छन्।
श्रीलङ्कामा कोरोना भाइरसबाट अहिलेसम्म ८७ हजार ९०७ जना संक्रमित भएका छन् भने तीमध्ये ५२७ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।