काठमाडाैं- म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी आन्दाेलनमा ज्यान गुमाउनेकाे संख्या १२० नाघेकाे छ। आइतबार भएकाे प्रदर्शनकाे क्रममा कम्तिमा ५० प्रदर्शनकारीको मृत्यु भएपछि मृतककाे संख्या १२० नाघेकाे राजनीतिक कारागारका लागि सहयोग संगठन (एएपीपी) अनुगमन समूहले जनाएकाे हाे।
आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमाको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो। यङ्गुनमा मात्रै कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रदर्शनकारी पनि लाठी र चक्कुका साथ प्रदर्शनमा उत्रिएका थिए।
यसलाई गत महिना सैन्य ‘कू’ भएयताकै सबैभन्दा घातक र रक्तपातपूर्ण घटनाको रुपमा हेरिएको छ। यस दौरान यसअघि पनि एकैदिन १८ र ३८ जना प्रदर्शनकारीको मृत्यु भएको थियो।
आइतबारको हिंस्रक घटनापछि सेनानिकट जुन्ता सरकारले मार्शल ( सैन्य) कानून लागू गरिएकाे छ। आइतबार चिनियाँ व्यापारीलाई हमला गरेपछि देशको सबैभन्दा ठूलो सहर यङ्गुनको दुई जिल्लामा सैन्य कानून घोषणा गरिएकाे थियाे। सोमबारबाट यङ्गुन र मान्डलेको अन्य धेरै क्षेत्रमा पनि सैन्य कानून लागू गरिएको छ। अब प्रदर्शनमा उत्रिएकाहरुविरुद्ध सैन्य अदालतमा मुद्दा चलाउन सकिन्छ।
प्रदर्शनकारीले लोकतान्त्रिक नेतृ आङ साङ सू ची, राष्ट्रपति विन मिन्टसहितका शीर्ष नेताहरुको रिहाइको माग गरिरहेका छन्।तर,फेब्रुअरी १ को कू पछि सू चीलाई अज्ञात स्थानमा राखिएको छ। उनीविरुद्ध सेनाले अवैधरुपमा वाकीटकी राखेकाे, भष्ट्राचार गरेकाे र काेराेना भाइरस नियन्त्रणका लागि लगाइएकाे प्रतिबन्धकाे नियम उल्लघंन गरेकाे आराेप लगाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।