काठमाडाैं- अस्ट्रेलियामा यौन दुर्व्यवहार र महिला हिंसाको विरोधमा हजारौं मानिसहरु सडकमा उत्रिएका छन्। अस्ट्रेलियाका शीर्ष अधिकारीमाथि यौन दुर्व्यवहारको आरोप लागेसँगै यौन दुर्व्यवहारविरुद्ध ठूलो र्याली निस्किएको हो।
‘मार्च ४ जस्टिस’काे नाममा सुरु गरिएकाे विरोध र्याली सोमबार अपराह्न सिड्नी र मेलबोर्नसहितका अस्ट्रेलियाका ४० भन्दा बढी सहरमा निस्किएकाे थियाे। आयोजकहरूका अनुसार याे महिलाहरूको सबैभन्दा ठूलो विद्रोह हो।
धेरै सहभागीहरूले प्लेकार्ड बोकेका थिए र कालो पाेशाक लगाएका थिए। मेलबोर्नमा प्रदर्शनकारीहरूले लामो ब्यानर बोकेका थिए, जुन बितेको दशकमा महिला हिंसाका घटनामा मारिएका महिलाको नाम सूचीबद्ध गरिएको थियो।
एकसाताअघि अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले बलात्कार आरोपको एक आरोपी आफू पनि रहेको खुलासा गरेका थिए। तर, घटनमा सन् १९८८ को भएकाे भन्दै उनले आफूमाथिको आरोप अस्वीकार गरेका थिए।
अर्को पूर्व राजनीतिक सल्लाहकार ब्रिटानी हिग्गिङ्सले सन् २०१९ मा मन्त्रीको कार्यालयमा सहकर्मीले आफ्नो बलात्कार गरेको बताएकी थिइन्। उनले आफूमाथिको घटनाबारे मुख खोलेसँगै अस्ट्रेलियामा यौन हिंसाबारे मुख खोल्नेको लहर देखिएको हो।
संसद भवन बाहिर हजारौं आन्दोलनकारीहरुसँग कुराकानी गर्दै हिग्गिङ्स भनिन्, ‘अष्ट्रेलियामा महिलाले भोगेका यौन हिंसाको अवस्था डरलाग्दो छ। यस्तो घटना मन्त्री कार्यालयमा हुन सक्छ भने यो वास्तवमै कहीँ पनि हुन सक्छ।’
अस्ट्रेलियाको सरकारले यौन दुर्व्यवहारको मुद्दालाई गम्भीरतापूर्वक नलिएको भन्दै र्यालीमा सहभागी मानिसहरुले सरकारको आलोचना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।