न्युयोर्क- अफगानिस्तानमा लामो समयदेखि युद्धरत चरमपन्थी संगठन तालिबानले अमेरिकाले सम्झैताअनुसार आफ्नाे सैनिक फिर्ता लैजान नसकेकाे आराेप लगाएकाे छ।
आगामी मे १ बाट सबै विदेशी सैनिक फिर्ता हुने गरी गत वर्ष अमेरिकासँग तालिबानको सम्झौता भएको थियो। तर सैनिक फिर्ता हुने मिति नजिकिँदै गर्दा अमेरिकाले कुनै कदम नचालेकाे तालिबानीले आराेप लगाएकाे हाे।
यता द न्युयोर्क टाइम्सले अफगानिस्तानमा अमेरिकी सेनाले बाहिर बताइएको भन्दा बढी सैनिक राखेको दावी गर्दै आएकाे छ।
आधिकारिक रूपमा पेन्टागनले अफगानिस्तानमा कुल २५ सय सैनिक रहेको बताउँदै आएको छ तर, अमेरिकी, युरोपेली र अफगान अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले बाहिर बताइएको भन्दा एक हजार बढी सैनिक रहेको समाचार प्रकाशित गरेकाे हाे।
स्पेसल अपरेसन फोर्सका सैनिकहरूलाई रेकर्डमा नराखिएको एक वरिष्ठ सैन्य अधिकारीले बताए। केही युनिटहरू अस्थायी रहेको पनि उनको भनाइ छ। यीमध्ये केही एलिट युनिटहरू पेन्टागन र सीआईए दुवैका लागि काम गर्छन्।
डोनल्ड ट्रम्प प्रशासनअन्तर्गत अमेरिकाले अफगानिस्तानमा सैनिक संख्या घटाएको थियो। पोहोर साल यही समयताका १२ हजार सैनिक थिए।
अफगानिस्तानका गृहमन्त्रीले आइतबार अमेरिकी सेना फिर्ता गए पनि अफगानिस्तानको सेनाले आफ्नो नियन्त्रण कायम राख्न सक्ने बताएका थिए। उनले पछिल्लो समय तालिबानबाट हुने आक्रमण बढेको भए पनि अफगानी सेनाले त्यसको सामना गरिरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।