काठमाडाैं– अक्सफोर्ड–एस्ट्राजेनेकाको काेराेना भाइरसविरुद्धकाे खोप तत्काललाई प्रयोग नगर्ने नेदरल्यान्ड्सले घोषणा गरेको छ। खोपको सम्भावित प्रतिकुल असरलाई मध्यनजर गर्दै तत्काललाई प्रयाेग नगर्ने निर्णय गरिको नेदरल्यान्ड्स सरकारले जानकारी दिएको हो।
आगामी मार्च २९ सम्म यो खोप प्रयोगमा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ। हालैमात्र बुल्गारिया, आइसल्यान्ड र थाइल्यान्डले पनि यो खोप प्रयोग नगर्ने बताएको थियो।
डेनमार्क र नर्वे लगायत कतिपय युरोपेली देशहरूले यो खोप लगाउने कार्यक्रम स्थगित गरिसकेको छ। हालसम्म ५० लाखभन्दा बढी युरोपेली नागरिकले यो खोप लगाइसकेका छन्। तीमध्ये ३० जनामा रगत जम्ने समस्या देखिएको बताइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को खोप सुझाव समितिले भने एस्ट्राजेनेका खोप उपयोगी नै रहेको, कुनै हानिकारक नरहेको र कुनै खतरा नदेखिएकाले निशंकोच लगाउन सुझाव दिएको छ।
खोपको प्रयोग र परिणामसम्बन्धी विवरणहरुको आफूहरुले अध्ययन गरिरहेको समेत डब्लुएचओले जानकारी दिएकाे छ। अध्ययनमा खोपकै कारणले कसैको मृत्यु भएको पुष्टि नभएको पनि जनाइएकाे छ।
युरोपेली औषधि सम्बन्धी एजेन्सी इएमएले खोप लगाएपछि रगत जमेको विषयको समीक्षा गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।