काठमाडाैं– तालिबानले अफगानिस्तानमा युद्धविरामका लागि अमेरिकाले प्रस्ताव गरेको अन्तरिम सरकारको योजनामा आशंका व्यक्त गरेको छ।
मार्चको सुरुमा अमेरिकाले अफगानिस्तानमा युद्धविरामका लागि अहिलेको सरकारलाई हटाउँदै नयाँ संविधान बन्नुभन्दा पहिला अन्तरिम सरकार गठन गर्ने प्रस्ताव गरेको थियो। तर, तालिबानले भने अन्तरिम संविधानले अफगानिस्तानको चुनौती समाधान गर्न नसक्ने बताएको हो।
तालिबानका प्रवक्ता मुहम्मद नाइमले अन्तरिम सरकार बनाउँदा उक्त सरकार प्रभावहीन हुने र आफूहरुको एजेन्डाले सार्थकता नपाउने सम्भावना रहेको बताए।
यता उनले अमेरिकाले सम्झैता अनुसार सैनिक फिर्ता लैजानुपर्ने समेत बताए। गत वर्ष तालिबानसँग अमेरिकाले आगामी मे १ बाट सबै विदेशी सैनिक फिर्ता हुने गरी सम्झौता गरेकाे थियो। विदेशी सैनिक फिर्ता हुने मिति नजिकिँदै गर्दा अफगानिस्तानमा हिंसात्मक आक्रमण पनि उल्लेख्यरुपमा बढेको छ।
अफगानिस्तानको राजधानी काबुल शहरका दुई फरक स्थानमा आइतबार भएका बम विस्फोटमा परी तीन जना सर्वसाधारण नागरिकको ज्यान गएको छ।
ती दुवै स्थानमा यहाँका तालिबानहरुले विस्फोटक पदार्थ विस्फोट गराएर तीन जना सर्वसाधारणको ज्यान लिएका काबुल प्रहरीका प्रवक्ता फेडरस फरामर्जाले पुष्टि गरेका छन्।
सो विस्फोटमा परी अरु पनि कैयौँ सर्वसाधारण घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ।
यस घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन। तर प्रहरीले भने यो आक्रमण तालिबानीहरुले नै गरेका बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।