काठमाडाैं–कस्तो छुवाइ गुड टच हो, कुन ब्याड टच भन्ने कुरा सानै उमेरमा बालबालिकालाई सिकाउनु जरुरी छ। तर, त्यसको विपरित अभिभावक यस्ता विषयमा कुरा उठाउनै चाहँदैनन्।
अभिभावक मात्रै हैन, स्कुलमा शिक्षकसमेत यस्ता कुरामा विद्यार्थीको जिज्ञासा मेट्न असफल भएका निकै घटना छन्। त्यसैले, यस्ता विषय बालबालिकालाई बुझाउन सकारात्मक भूमिका खेल्ने माध्यम हो, कला कलाका विभिन्न विधामध्ये अझै सजिलोसँग बुझाउन सकिने माध्यम फिल्म हो।
नेपाली फिल्म क्षेत्रले यस्ता गम्भीर विषयमा कमै काम गरेको छ। हालै एउटा छोटो फिल्म युट्युव मार्फत सार्वजनिक भएको छ, ‘सावधान’। फिल्ममा वर्षा राउत, काब्या अधिकारी, प्रविन खतिवडा, आर्जेस रेग्मी, अनिता बस्नेत र भुपेन्द्र सिंह धामीको अभिनय रहेको छ।
करिब १० मिनेटको फिल्मलाई चर्चित फिल्महरु निर्देशन गरिसकेका दिपेन्द्र लामाले लेख्ने र निर्देशन गर्ने काम गरेका छन्। बालबालिकाले कुनै न कुनै माध्यमबाट आफू हिंसामा परेको कुरा बताइरहे पनि अभिभावकले नबुझ्दा शारीरिक र मानसिक पीडा भोगेका बालबालिकाको कथा फिल्ममा समेटिएको छ ।
यसको मुख्य उद्देश्य नै अभिभावकलाई सचेत गराउने रहेको फिल्मका निर्देशक लामाले बताए । उनले भने, ‘हामी आफ्ना छोराछोरीलाई मिठो खाना, राम्रो लुगा र महँगो शिक्षा त दिन्छौं तर उनीहरुमाथि भइरहेको दुर्व्यवहारप्रति भने बेखबर हुन सक्छौं ।’ यस्ता कुराहरुमा बेलैमा अभिभावक सचेत भएनन् र छोराछोरीको कुरामा सुनाइ भएन भने ठूलौ दुर्घटना निम्तिन सक्ने लामाकाे भनाइ छ।
फिल्ममा जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्त लगानी गरेका हुन् स्क्रिप्ट पढ्ने बित्तिकै कथाले मन छोएको र आफू अभिनय गर्न तयार भएको वर्षा राउत बताउँछिन्। उनले थपिन्, ‘यस्तो संवेदनशील विषयलाई धेरैभन्दा धेरै दर्शकसमक्ष पुर्याउनु कलाकारको कर्तव्य हो । यो फिल्मले पनि यही उद्देश्य बोकेको छ ।’
शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म काठमाडौंको कपन क्षेत्रमा एकै दिनमा खिचिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।