काठमाडौं–अस्ट्रेलियाले आगामी जुलाईसम्ममा सिंगापुरसँगको हवाई यात्रा खोल्ने बारेमा छलफल थालेको छ।
कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न अस्ट्रेलियाले लामो समयदेखि अन्तर्राष्ट्रिय उडान र यात्रामाथि कडाइ गरेको छ।
पर्यटन र यात्रामा सहजीकरण गर्न सिंगापुरसँग हवाई उडान खुला गर्नेबारेमा छलफल भइरहेको अस्ट्रेलियाली अधिकारीले जनाएका छन्।
अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले विशेष परिस्थितिबाहेक कुनै पनि गैर–अस्ट्रेलियाली व्यक्तिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाएको छ।
आगामी जुलाईदेखि दुई देशबीच हवाई उडान खोल्नेबारे छलफल भइरहेको अस्ट्रेलियाका उपप्रधानमन्त्री माइकल म्याककोरम्याकले जानकारी दिए। एक टेलिभिजन अन्तर्वार्तामा उनले कोरोनाभाइरसको खोप लगाउन सुरु भएको अवस्थामा अस्ट्रेलियाले क्रमशः अन्य मुलुकसँगको यात्रा पनि खुला गर्दैै जाने बताएका हुन्।
अस्ट्रेलियाली अखबार सिड्नी मर्निङ हेराल्डका अनुसार यो सम्झौता बमोजिम खोप लगाएका सिंगापुर र अस्ट्रेलियाका नागरिकलाई एकअर्को देशमा क्वारेन्टाइनमा बस्नु नपर्ने व्यवस्था गर्न लागिएको छ।
अन्तर्राष्ट्रिय विद्यार्थी, व्यावसायिक यात्रु र स्वदेश फर्कन चाहने तेस्रो मुलुकका नागरिकले भने अस्ट्रेलियाका लागि उड्नुअघि सिंगापुरमा दुई साताको क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान समेटिएको समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।