काठमाडौं- एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप चैत १५ देखि १८ गतेसम्म आयोजना हुने भएको छ। नेपाल ब्याडमिन्टन संघको आयोजनामा दशरथ रंगशालास्थित कभर्डहलमा प्रतियोगिता हुनेछ।
च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रित युगल, ब्वाइज तथा गर्लरस यु-१७ र भेट्रान्स युगल-४५ गरी ८ विधामा प्रतिस्पर्धा हुनेछ। र्याङ्किङ प्रतियोगितासमेत रहेको च्याम्पियनसिपमा जिल्ला ब्याडमिन्टन संघ र विभागीय टोली आर्मी, पुलिस र एपिएफ क्लबका खेलाडीहरुले सहभागिता जनाउने छन्।
करिब २७ लाख रुपैयाँ बजेट रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शीर्ष तीनमा पर्नेले ५० हजार, २५ हजार र १२ हजार ५०० रुपैयाँ पाउने छन्।
त्यस्तै युगलतर्फका शीर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५०० रुपैयाँ पाउने छन्। यु-१७ ब्वाइज तथा गर्ल्सका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ।
विश्व ब्याडमिन्टन महासंघको नियमानुसार हुने प्रतियोगिताका लागि संघले प्रत्येक जिल्लालाई पुरुष तथा महिला शीर्ष १६ वरीयताबाहेक पुरुष र महिलातर्फ समान २-२ कोटा उपलब्ध गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।