तस्बिर : इपिए
यांगुन (म्यान्मार)- म्यान्मारमा थप ५ जना प्रदर्शनकारीको मृत्यु भएको छ। आइतबार थप ५ जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय समाचारमाध्यम र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले समाचार प्रकाशन गरेको छ।
म्यान्मारको उत्तरी क्षेत्र ह्पाकान्तमा एक जना युवालाई गोली हानी मारिएको स्थानीय सञ्चार माध्यम र चिकित्सकलाई उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ।
यस्तै यांगुननजिकै बागो क्षेत्रमा पनि एक जना मारिएको प्रत्यक्षदर्शीहरूले बताएको भन्दै बिबिसीमा समाचार छ। यांगुनमा मात्र ३ जना प्रदर्शनकारी मारिएका छन्।
यसअघि शनिबार १२ जना प्रदर्शनकारी मारिएको बिबीसीले उल्लेख गरेको छ।
यसैबीच भूमिगत नेता मान विन खाइङ थानले सैन्य 'कू'विरुद्ध आन्दोलन जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भूमिगत भएपछि पहिलोपटक सार्वजनिक रूपमा भाषण गर्दै नेता थानले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
'देशका लागि यो सबैभन्दा अध्यारो समय हो। तर यो उज्यालो बिहानी हुन लागेको अवस्था हो,' नेता थानले भने।
फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई पक्राउ गरी म्यान्मारको सत्ता हातमा लिएपछि त्यसविरुद्ध प्रदर्शन भइरहेको छ। गत वर्ष भएको निर्वाचनमा सुकीको पार्टीले स्पष्ट बहुमत ल्याएको भएपनि सेनाले भने निर्वाचनमा धाँधली भएको बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।