काठमाडौं- बोलिभियाकी अन्तरिम/पूर्वराष्ट्रपति जिनाइन एनेज पक्राउ परेकी छन्। राज्यविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको बताइएको छ।एनेजका साथै अन्य पूर्वमन्त्रीहरूसमेत पक्राउ परेको बिबिसीले जनाएको छ।
'श्रीमती जिनाइन एनेज पक्राउ परेको बोलिभियन जनतालाई जानकारी गराउन चाहन्छु,' सरकारका एक मन्त्री कार्लोस एडुवारो देल कास्टिलोले ट्विटर र फेसबुकमा लेखेका छन्। उनलाई पक्राउ गर्न प्रहरी सफल भएकोमा कास्टिलोले प्रहरीको प्रशंसा पनि गरेका छन्।
मोरेल्सको पार्टी शक्तिमा आएपछि आफूलाई राजनीतिक रूपमा सिकार बनाइएको एनेजले प्रतिक्रिया दिएकी छन्।
सन् २०१९ मा राष्ट्रपति इभो मोरल्सलाई हटाउँदै आफू राष्ट्रपति बन्न एनेजले 'कू' गरेकोसमेत आरोप लगाइएको छ। आन्दोलन चर्किएपछि मोरल्सले राजीनामा दिएर देशबाहिर गएर बसेका थिए। मोरेल्सले निर्वाचनमा धाँधली गरेको भन्दै एनेजले आन्दोलन चर्काएकी थिइन्।
गत वर्ष अक्टोबरमा भएको निर्वाचनमा मोरेल्सको पार्टीले जितेको थियो। यसपछि मोरेल्स देश फर्किएर पार्टीको नेतृत्व सम्हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।