काठमाडाैं- अफगानिस्तानको पश्चिमी राज्य हेरातमा भएको शक्तिशाली कार-बम विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ। शुक्रबार हेरातस्थित प्रहरी कार्यालयलाई लक्षित गरी कार-बम विस्फोट गराइएको र यसबाट कम्तीमा ८ जना मारिएको स्थानीय प्रहरीले जानकारी दिएको छ। विस्फोटमा परी ४७ जना घाइते भएका छन्।
मृत्यु हुनेमा महिला, बालबालिका र सुरक्षाकर्मीसमेत रहेको हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादकाले जानकारी दिए। उनका अनुसार घाइतेहरूको हेरातका अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये ११ जना अफगानी सुरक्षाबलका कर्मचारीसमेत रहेकाे द हिन्दूले जनाएकाे छ। विस्फोटबाट दर्जनौं घर र पसलमा क्षति पुगेकाे उल्लेख गरिएको छ।
अफगानिस्तानको मुख्य विद्रोही समूह तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले हेरातमा भएको विस्फोटसँग आफ्नो समूहको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। पछिल्लो समय सुरक्षाफौजलाई लक्षित गरी तालिवानले धेरैवटा हमला गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।