मिलान– कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि इटालीमा पुनः प्रतिबन्धात्मक नियम लागु हुने भएको छ। प्रधानमन्त्री मारिओ द्राघीले महामारीको नयाँ लहरको चेतावनी दिएपछि पुनः प्रतिबन्धात्मक नियम लागु गरिन लागिएकाे हाे।
सोमबारदेखि इटालीका रोम र मिलानसहित आधाभन्दा बढि सहरमा पसल, रेस्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन्। यसका साथै अत्यावश्यक कामका लागि बाहेक स्थानीय बासिन्दा बाहिर निस्कन पाउने छैनन्। एक वर्ष पहिले इटालीले महामारी नियन्त्रणमा लिनका लागि पहिलोपटक राष्ट्रिय तहमा लकडाउन लागु गरेको थियो।
अहिले पनि इटालीमा काेराेना संक्रमण फैलिने क्रम राेकिएकाे छैन। इटालीमा कोराेना भाइरसकाे संक्रमणबाट अहिलेसम्म एक लाखभन्दा धेरै व्यक्तिको मृत्यु भइसकेकाे छ। इटालीमा अहिलेसम्म झण्डै ३२ लाख मानिसमा संक्रमण पुष्टि भइसकेकाे छ।
इटालीमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिएकाे थियाे। तर अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोपका कारण ब्लड क्लट बन्ने जोखिम रहेको भन्दै इटालीसहित युरोपका बुल्गेरिया, डेनमार्क र नर्वेमा पनि तत्कालका लागि सो खोप रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।