काठमाडौं–ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियम उल्लङ्घन गरेको भन्दै चीनले करीब १ अर्ब डलर जरिवाना गर्ने तयारी गरेको छ।
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले बिहीवार अलिबाबामाथिको जरिवाना सम्बन्धी समाचार छपेको थियो।
यो रकम चीनमा कुनै पनि कम्पनीमाथि आजसम्मकै सबैभन्दा ठूलो जरिवाना भएको समाचारमा जनाइएको छ। यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो। क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्याएको आरोप लागेको थियो।
चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीले केही महीनादेखि अनुसन्धान र छानबिन गरिरहेका थिए। यो कम्पनी हरेक चिनियाँका लागि सामान खरीद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ।
अलिबाबाका संस्थापक ज्याक माले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उनी र उनका व्यवसायमाथि सरकारी निकायले निगरानीे बढाएको थियो।
गत नोभेम्बरमा चिनियाँ वित्तीय नियामक निकायहरुले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी ‘एन्ट ग्रुप’ले सार्वजनिक गर्न लागेको आइपिआसमेत रोकिदिएका थिए। त्यसको एक महीनापछि अलिबाबाको व्यावसायिक गतिविधिमाथि अनुसन्धान सुरु भएको थियो।
अलिबाबामाथि आफूसँग आबद्ध व्यापारीहरुलाई अन्य प्रतिस्पर्धी ई–कमर्श कम्पनीमा सूचीकृत हुन रोक्दै आएको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।