काठमाडाैं– भारतका उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थसहित राखिएकाे स्कर्पियो गाडी अर्कैकाे भएकाे खुलेकाे छ।
भारतीय अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसका अनुसार पहिले यसकाे गाडीधनी मनसुख हिरेन ठानिएको थियाे। तर अनुसन्धानकाे क्रममा उनकाे नभएकाे पुष्टि भएकाे हाे।
गाडीकाे नम्बर प्लेट नक्कली थियो। साथै चेसिस र इन्जिन नम्बर मेटिएको थियो। प्रहरीले सिसामा लेखिएको फाइनान्स कम्पनीको नाम र नम्बरबाट त्यो गाडीको वास्तविक धनी पत्ता लगाएको हो। सुरुमा यो गाडीधनी हिरेन भन्ने ठानिएको थियो र हिरेनले पनि फेब्रुअरी १७ मा गाडी चोरी भएको बताएका थिए।
पहिले गाडीधनी ठानिएका हिरेन त्यसकाे केही दिनपछि मृत फेला परेपछि घटना रहस्यमय बनेको थियाे। अहिले गाडी मालिक अर्कै भएको पत्ता लागेपछि झनै घटना रहस्यपूर्ण बन्न थालेकाे छ।
गाडीको मालिक वास्तवमा मुम्बईकाे ठाणे निवासी साम पिटर न्युटन भन्ने व्यक्तिको रहेको खुलेको छ। त्यो गाडी २००७ अप्रिल ७ मा ठाणेस्थित आरटीओ कार्यालयमा दर्ता भएको पाइएको छ।
यसअघि गाडीधनी ठानिएको हिरेनले मृत्युअघि अपराध शाखामा न्युटनलाई आफूले सन् २०१६ देखि चिनेको बयान दिएका थिए। उनका अनुसार ठाणेमा उनको कार सजावट गर्ने व्यवसाय थियो। त्यस क्रममा न्युटनले आफ्नो त्यो स्कार्पियोमा केही सामान राखिदिन भनेका थिए।
गाडी सजावट गरेबापत न्युटनले हिरेनलाई २ लाख ८० हजारको चेक दिएका थिए तर त्यो बाउन्स चेक भएकाे थियाे। त्यसपछि २०१८ अप्रिल ६ मा हिरेनले पैसा मागे। तर न्युटनले दिन नसक्ने बताए। त्यसपछि हिरेनलाई उनले नौपडा प्रहरी कार्यालय पुर्याएका थिए।
यसपछि न्युटनले १५ दिनभित्र पैसा दिने वाचा गरे र त्यतिन्जेलका लागि आफ्नो स्कार्पियो प्रयोग गर्न हिरेनलाई दिएकाे प्रहरीले जनाएकाे छ। हिरेनकी पत्नी विमलाले भनेकी छन्, ‘हिरेनले यो गाडी सहायक प्रहरी निरीक्षक सचिन वाझेलाई प्रयोग गर्न दिनुभएको थियो र गाडी २०२० फेब्रुअरी ५ सम्म वाझेकै साथमा थियो।’
हिरेनको शरीरमा कुनै चोट नदेखिएको प्रहरीले जनाएको छ। उनको पोस्टमार्टम रिपोर्ट आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।