युवा आगो जस्तै हुन्छन्। उनीहरुभित्रको ऊर्जा सम्हाल्न सकियो भने रोशनी फैलिन्छ, नियन्त्रण बाहिर गयो भने डढेलोमा परिणत हुन पनि बेर लाग्दैन। वर्षौंदेखि किनारीकृत मधेशी युवाको ऊर्जा रोशनी बन्नका लागि सडकमा पोखियो १५ वर्षअघि। तर ‘मधेश मुक्ति’को सलाइको काँटी कोरेर दियो जस्तै जलाउन खोजेकाहरुले मधेशी युवाको ‘आगो’ सम्हाल्न सकेनन्। सत्ताको शीतलहर चलेका बेला त्यो आगोको तापबाट केही नेता लाभान्वित भए। शक्ति र सत्ताको न्यानो सेके। त्यो समयका युवा प्रौढ भइसके तर मधेश मुक्तिको आन्दोलन उहीँ छ, मुद्दा त्यहीँ छन्।
मधेश आन्दोलनकै वरिपरी पूर्णकालीन राजनीतिमा होमिएका सन्तोष मेहतालाई यसले हरदिन झस्काइरहन्छ। उनी आफैंसँग प्रश्न गरिरहन्छन्– लडाइँ लड्नै बाँकी छ तर, फेरि युवा लड्न तयार हुन्छन् कि हुँदैनन्? किनभने आन्दोलनमा युवा सपना लिएर आएको हुन्छ। आन्दोलन पूरा भएपछि सपनाले मूर्त रुपमा पाउने आशा हुन्छ। आशा पूरा भएन भने फेरि जगाउन मुश्किल पर्छ।
जनता समाजावादी पार्टीका केन्द्रीय सदस्य मेहता भन्छन्, ‘मधेश मुभमेन्टले विचारको बिउ रोप्यो। अन्याय विरुद्ध आगो ओकल्न सिकायो। तर, त्यसलाई कसरी राष्ट्रिय मुक्तिमा परिणत गर्ने भन्नेतर्फ नेताहरुले उति ध्यान दिन सकेनन्। त्यसपछि मधेशका युवामा राजनीतिप्रति वितृष्णा पैदा भयो।’
मधेश आन्दोलनका लागि उकासिएका युवालाई लयमा लैजान नस्कनुको पाश्र्व असर मधेशले अहिले पनि भोगिरहेको छ। मूल नेतृत्वले उनीहरुको आकांक्षा पूरा नगर्ने ठानेपछि वितृष्णा जागेर धेरै युवा संगीन संघर्षमा लागे। हतियार सहितका समूह मधेशमा धेरै देखिए। आन्दोलनबाट आएका युवा अपराधतर्फ मोडिएपछि परिस्थिति प्रत्युत्पादक बन्यो। ‘मधेश मुभमेन्टले आशा पूरा नगरेपछि हतियार उठाउने समूहहरु बन्न थाले। त्यता पुगेपछि धेरै युवा फसे।
उनीहरुलाई शान्तिपूर्ण अभियानबाटै माग पूरा गर्न सकिन्छ भन्ने विश्वास दिलाउने, त्यस्ता समूहमा लाग्न नदिने र झुठा मुद्दा खेपेकाहरुलाई रिहा गर्ने कार्यमा मधेशका नेताहरुको पहलकदमी हुन सकेन,’ मेहताको ‘अब्जरबेसन’ छ।
त्यो आन्दोलनबाट अपेक्षित उपलब्धि हासिल नहुनुको अर्को कारण पहाडिया विरुद्धको आन्दोलनका रुपमा त्यसलाई चित्रित गर्ने प्रयास पनि एउटा रहेको उनले बुझेका छन्। ‘मधेशलाई उत्पीडनबाट मुक्त गर्ने आन्दोलनलाई ‘पहाडिया’ विरुद्धको आन्दोलन ठानेर प्रताडित गरियो। प्रतिशोध साँध्ने काम भयो,’ उनले भने, ‘पहाडियाको विरुद्धमा मधेशी आन्दोलन होइन भनि हामीले बुझाउन पनि सकेनौं। पहाडी समुदायमा खराब समाचार सम्प्रेषण भए। असत्यलाई चिर्न हामीले सकेनौं।’
त्यसले मुक्तिको आन्दोलन नै मारमा पर्यो। रेशम चौधरीहरुप्रति वितृष्णा पैदा गर्ने मनोविज्ञान तयार हुनु पनि यसैको उपक्रम भएको उनको बुझाइ छ।
आन्दोलनको व्यवस्थित रुप राजनीति हो। तर, आन्दोलनपछि पनि तात्विक फरक नदेखेपछि परिवर्तनमा आफूलाई होमेको युवामा निराशा पैदा हुन्छ। त्यसले समग्र राजनीतिप्रति नै वितृष्णा पैदा गर्छ। अहिले मधेशी युवा राजनीतिमा प्रोत्साहित नहुनुको एउटा कारण यसलाई ठान्छन् उनी। उनले भने, ‘आन्दोलन गर्दै गर्दा आशा थियो, मधेशमा रोजगारी बढ्छ। सेनामा मधेशीको सहभागिता उल्लेख्य हुन्छ। ‘मुभमेन्ट’का बेला भाषण गर्दा यस्तै आश्वासन दिइएको हुन्छ।’
मधेशमा भएका ठूला आन्दोलन विषयबाट भड्किएर सत्ताकेन्द्रित भए। त्यसैको आडमा मधेशकेन्द्रित दलले केही सिट जिते। केही नेताहरुले शक्ति आर्जन पनि गरे। तर, सत्ताको आचरणमा अपेक्षित परिवर्तन नआएको उनले देखेभोगेका छन्।
विभेदले बनाइदियो विद्रोही
सुनसरी स्थायी घर भएका मेहता १४ वर्षको उमेरदेखि राजनीतिमा छन्। राजनीतिमा उनलाई सत्ता र शक्तिको चाहनाले डोर्याएको होइन। आफूले भोगेका विभेदले उनलाई ‘बिद्रोही’ बनायो। त्यसबिरुद्ध लड्ने मञ्च उनले राजनीतिलाई बनाए।
२०५८ पछि न्यायको माग गरेर भएका हरेक आन्दोलनको अग्रमोर्चामा रहेका मेहता १५ पटक भन्दा बढी प्रहरी हिरासतमा पुगेका छन्। केही दिनदेखि एक महिनासम्म प्रहरी हिरासतमा बिताएको अनुभव छ। आन्दोलनमा पटक–पटक पिटाइ खाइका छन्। प्रहरीको लाठीबाट पटक–पटक टाउकोमा चोट लाग्दा ३० भन्दा बढी टाँका लगाउनुपरेको छ। यसले उनलाई विचलित बनाउँदैन। भन्छन्, ‘राष्ट्रिय मुक्तिको निम्ति, मधेशी मुक्तिको निम्ति लडिरहेका छु र लडिरहन्छु।’
राजनीतिको सुरुआत कक्षा ९ मा पढ्दा भयो। सुनसरी, इनरुवाको जुन स्कुलमा उनी पढ्थे, त्यहीँ एकदिन भूमिगत राजनीतिमा रहेको नेकपा माओवादीको एउटा बैठक थियो। उनले त्यो बैठकमा बोल्नेहरुलाई सुने। उनीहरु भनिरहेका थिए, यो गरिबी र यो विभेदबाट मुक्तिका लागि हामी लड्नुपर्छ। उनीहरुको कुरा मेहतालाई मन पर्यो। उनले भने, ‘मलाई पनि सँगै काम गर्न दिनुपर्यो।’ सहमति जनाएर उनीहरु हिँडे।
तीन महिनापछि उनलाई अखिल क्रान्तिकारीको नेता भयौ भन्ने खबर आयो। त्यो समय ‘श्रीमान् गम्भीर’ नामक गीत स्कुलमा गाउन नदिने र किताबमा भएको राजाको तस्बिर च्यात्ने अभियान चलेको थियो। उनले त्यसको अगुवाइ गरे, विशेष गरी सुनसरीको तल्लो बेल्टभरी उनी सक्रिय भए।
त्यसपछि कोर्सको भन्दा बढी कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित किताब उनले पढ्न थाले। प्रशासनले थाहा पाएर उनको घरमा छापा पनि मार्यो तर उनले किताब राख्ने गरेको ठाउँ भेट्न सकेन। यही क्रममा २०५८ सालमा ऋतिक रोशन कान्ड घट्यो। ऋतिक रोशनको विरोधमा उनले सुनसरीमा जुलुस निकाले। भोलिपल्टदेखि त्यसले मधेशी विरुद्धको आन्दोलनको रुप लिन थाल्यो।
काठमाडौंमा रहेका मधेशीहरु भारतीयका नाममा कुटिन थाले। नेपाली नागरिकता देखाउँदा पनि जोगिएनन्। उनलाई लाग्यो, ‘यसको विरोध गर्नुपर्छ।’ उनले आफ्ना नेताहरुलाई खबर पठाए। नेताले उत्तर दिए, ‘यो राष्ट्रवादी आन्दोलन हो।’त्यही दिन उनले माओवादी त्यागे। आफूसँग काम गरिरहेकाहरुलाई गोलबद्ध गरेर बनाए– मधेशी विद्यार्थी मोर्चा। सुनसरी जिल्लाभरिका युवा र विद्यार्थीहरुलाई संगठित गरे। उनीसँग तीन सय जति जोडिएका थिए। त्यसपछि उनलाई लाग्न थाल्यो– मैले मात्रै केही गर्न सक्दिनँ। मसँग स्रोत छैन। त्यही समूहलाई उनले तत्कालीन सद्भावना पार्टीको विद्यार्थी संगठनको जिल्ला कमिटीमा रुपान्तरण गरे। त्यसपछि सोही विद्यार्थी संगठनको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै अध्यक्ष भए। उनी अध्यक्ष भएकै बेला स्ववियुमा सद्भावनाको विद्यार्थी संगठन देशकै तेस्रो ठूलो विद्यार्थी संगठन बन्यो।
सानैमा आफ्नो समुदाय केन्द्रित आन्दोलनमा होमिनुको कारण आफैले देखेभोगेका भेदभाव हुन्। उनले यस विषयमा किताब पनि लेखेका छन्। उनी कक्षा ९ पढ्दा मधेशी र पहाडी विद्यार्थीबीच फाइट भयो। पहाडीलाई पहाडका शिक्षकले पनि साथ दिए। व्यापारीहरुले पनि ‘मधेशी, धोति, भेलेलाई पिट्नुपर्छ’ भन्दै सहयोग गरेको देखे। आफ्नो समुदायको रिक्सावालालाई गर्ने व्यवहारको हरदिन साक्षी छँदै थिए। एकदिन आफैंले पनि भोगे।
घटना स्मरण गर्छन्, ‘म साइकल डोर्याउँदै गइरहेको थिएँ। मेरो साइकल उसको जिउमा टच भएको थियो। मैले ‘सरी’ भनें। तर उसले त तँ भेले मलाई छुने भनेर साइकल र मलाई छेउको नहरमा फाल्यो।’
उनलाई त्यसपछि मात्रै थाहा भयो, मधेशी जताततै उत्पीडित छन्। हेपिने रहेछन्। प्रशासन, कर्मचारी, प्रहरी र सेनामा प्रतिनिधित्व कमजोर छ। उनले माओवादी बढ्नुको कारण यही मुक्तिको कुरा रहेको बुझे। माओवादीले मधेशी, थारु, लिम्बु, राई, तामाङ, नेवाको मुक्तिको कुरा गरिरहेको थियो त्यो वखत।
उनी सद्भावनामै हुँदा पनि उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरममा रहेर काम गरे। त्यो बेला उपेन्द्र यादव संयोजक भएको उक्त संस्था पार्टी भइसकेको थिएन। जयकृष्ण गोइतलगायत २५ सदस्यीय थियो। त्यसमा सन्तोषलाई पनि राखिएको थियो। सुनसरीमा त्यसका लागि उनले काम गरे। उमेरमा सानो भएकाले अध्यक्ष खोजेर आफू सचिव भएर सुनसरी जिल्ला समिति बनाएका थिए। पछि पार्टी बन्ने भएपछि उनी फोरमबाट अलग्गिएर सद्भावनामै रहे।
संघीयता नै मुक्तिको बाटो
सुरुदेखि नै उनी संघीयता पक्षधर थिए। छुट्टै देशको परिकल्पना गर्नेहरुसँग उनको सहकार्य थियो तर उनीहरुलाई पनि विविधतामा आफूलाई अब्बल बनाएर उभ्याउनुपर्छ भनेर वहश गर्थे।
भन्छन्, ‘सवै समस्या सही अर्थको संघीयताले हल हुन्छ भन्ने मेरो त्यो बेलाकै मान्यता थियो। बेग्लै देशको कुरा गर्नेको म विरोधी थिएँ।’ उनले १० वर्षअघि लेखेको ‘मधेशको राजनीतिक प्रस्ताव’ नामक किताबमा पनि बेग्लै देशको विरोध गरेको बताउँछन्।
त्यो बेला मधेशकेन्द्रित दलका नेताहरुले भाषणमा ताली पाउन छुट्टै देशको नारा समेत घन्काउँथे। तर, आफू भाषणमा समेत बेग्लै देशको कुरा गर्न नहुने पक्षमा रहेको बताउँछन् उनी। उनले सम्झिए, ‘त्यस्तो समय नै होइन। संघीयताले सवैलाई जोडेको छ। हाम्रै छिमेकी देश भारतमा विविधतामै रमाउने संस्कृति नै बनिसक्यो। बंगालमा जाँदा बंगालीमा दुईचार लाइन बोल्ने, युपीमा जाँदा भोजपुरी, बिहारमा मैथिली बोल्ने गर्छन् प्रधानमन्त्री। संघीयताले सवैलाई जोडेको छ। नत्र त्यति ठूलो देश जोडिन सम्भव हुँदैनथ्यो। यहाँ पनि विस्तारै त्यस्तै हुन्छ।’
अहिले संघीयता प्रभावकारी हुन सकिरहेको छैन। यसलाई उनी विकृत संघीयताको संज्ञा दिन्छन्। उनी भन्छन्, ‘संघीयता माग्नेहरु सवैले वहिष्कार गरेपछि संघीयता नचाहनेले थोपरेको संघीयता हो यो। त्यसैले यो पूर्ण छैन।’
वैकल्पिक विचार, वैकल्पिक नेतृत्व
पुँजीवाद अथवा समाजवादका रुपमा संसारमै राजनीति ध्रुवीकृत भएको छ। नेपालमा पनि एमाले, माओवादी केन्द्रले कम्युनिज्म र सोसियलिज्म, कांग्रेस, राप्रपालगायत यीसँगै पुँजीवादलाई समेत मिलाएर लैजानुपर्ने खालको सिद्धान्तमा सक्रिय रहेको उनको बुझाइ छ।
यी तिनवटै धारबाट वर्तमान अवस्थाबाट मुक्तिको कुरा सम्भव उनी देख्दैनन्। नयाँ विचारको आवश्यकता ठान्छन्। भन्छन्, ‘माक्र्सवादबाट अब थप परिवर्तन सम्भव छैन। त्यो अधुरो छ। नेपालमै कम्युनिष्ट बीचमा जे देखियो, त्यसले प्रमाणित पनि गर्छ। त्यसैले नयाँ दर्शन, विचार र कार्यदिशा चाहिन्छ।’
उनलाई असाध्यै मन पर्ने नेतृत्व महात्मा गान्धी मोडल हो। त्यसैमा भगत सिंहका विशेषता समेत मिश्रण भएको नेतृत्वको उनी परिकल्पना गरिरहन्छन्। उनी सुरुमा युवा विद्यार्थी संगठित गर्दा भगत सिंहको फिल्म देखाउँथे। भन्छन्, ‘नेतामा भगत सिंह जस्तो ऊर्जा र गान्धी जस्तो सोच हुनुपर्छ।’
उनले आफूले कल्पना गरेको नेताका केही गुण गजेन्द्रनारायण सिंहमा भेटेका हुन्। तर, उनी मधेश र त्यहाँ पनि एउटा सानो तप्काको नेता भए। उनले राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको भए नेपालमा रोलमोडल नेता बन्न सक्ने गुण रहेको मेहता बताउँछन्।
सिंहले मधेशमा आफ्नो प्रभाव छाडेका छन्, तर त्यो पथमा मधेशका नेताहरु नहिँड्नु अलग्गै कुरा हो। मेहता भन्छन्, ‘उहाँ दुई सय विघा जमिन भएको जमिनदारको छोरो। तर, मर्ने बेलामा उहाँसँग केही थिएन। सवै कुरा जनताका लागि समर्पण गर्नुभयो।’
राजनीति गर्ने क्रममा जनताका घरमा जाँदै उनको सदाबहार ओछ्यान गुन्द्री र खाना च्युरामुरी र नुनखुर्सानी हुने गरेको कुराबाट उनी प्रभावित छन्। भन्छन्, ‘नेतृत्वको चरित्र त्यस्तो भयो भने आन्दोलन अगाडि बढ्छ। त्यस्तो नेतृत्वको अभाव छ।’
अहिले भएकै नेताहरुमा उनी दृढता, लक्ष्यप्रति अडिग र कुरा बुझ्ने गुण खोजिरहेका हुन्छन्। पार्टी पंक्तिलाई सामुहिक रुपमा अगाडि बढाउन सक्ने खालको नेतृत्व हुनुपर्ने उनको बुझाइ छ।
उत्पीडितहरुको एकीकृत अभियान
मधेशको उत्पीडन, विभेद र मुक्तिका कुरा स्वाभाविक विषय हुन्। तर, देशमा अन्य समुदाय र क्षेत्र पनि उत्तिकै पीडित रहेको उनको बुझाइ छ। त्यसैले अब तमाम राष्ट्रिय मुक्तिको कुरा एकसाथ उठ्नुपर्छ भन्ने उनलाई लाग्छ। ‘मधेशी मुक्तिको कुरा गरेर मात्रै हुँदैन, उत्पीडन त जहाँको भएपनि उस्तै–उस्तै हो। व्यवस्थापनमा अलिकति फरक होला। लिम्बु, नेवा, किरात, मगरात, तमु, गुरुङ मुक्ति एक ठाउँ नजोडिकन सम्भव हुँदैन,’ उनको विचार छ, ‘एउटा जात, समुदाय र क्षेत्रले मात्रै आन्दोलन अघि बढायो भने नेतृत्वले नियन्त्रण गरुन्जेल विखण्डन हुँदैन। नत्र विखण्डनतर्फ मोडिने खतरा हुन्छ।’
राष्ट्रिय मुक्तिको यस्तो आन्दोलन दोधारे तलबार जस्तै हुने उनी बताउँछन्। त्यसले सही दिशा लियो भने देशकै लागि राम्रो हुने भए पनि बिग्रिएमा देश टुक्र्याउने मुभमेन्ट हुने उनले बुझेका छन्। त्यसैले यस्तो मुभमेन्ट एकीकृत हुनुपर्ने कुरामा उनी जोड दिन्छन्। त्यसका लागि नेतृत्व पनि त्यही अनुसारको हुनपर्ने उनको धारणा छ।
जनता समाजवादी पार्टी अहिलेको राजनीतिमा वैकल्पिक शक्ति बन्न खोजिरहेको बताउँछ। नेपालमा कांग्रेस र कम्युनिष्टको नेतृत्व पर्गेली सकेकाले नयाँ रोजाइ यो हुन सक्ने उनी बताउँछन्। तर, यसका लागि नेतृत्व पनि वैकल्पिक हुन जरुरी छ। त्यसबारे यो पार्टीका नेतामा अहिले एकप्रकारको ‘रियलाइजेसन’ रहेको देखेका छन् उनले।
विगतको तीतो अनुभवले केहीलाई झस्काउन सक्छ। ‘यो १०\१५ वर्षको मुभमेन्टपछि हामीसँग केही तीतो अनुभव छ। केही साथीहरु अजेन्डा थाती राखेर मन्त्री बन्न गएकै हुन्। हिसाबकिताब पल्टाएर हेर्ने हो भने केही शक्ति आर्जन भयो होला। आर्थिक लाभ भयो होला। मधेश र देशले केही पाएन,’ उनको बुझाइ छ।
अहिले जसपामा रहेका नेता बाबुराम भट्टराईले यो नयाँ परिस्थितिमा नेतृत्व गर्नसक्ने उनको आत्मविश्वास छ। विगतमा संविधान बनाउने अजेन्डा भएकाले भट्टराईको नेतृत्वदायी भूमिका नदेखिए पनि अहिलेको अवस्थामा उनी उपययुक्त हुनसक्ने मेहता बताउँछन्। तत्कालीन अजेन्डा पूरा गर्ने वा सरकार दिने कुरामा सम्झौता गर्नुपरे पनि वैकल्पिक विचारले पूरै सत्ताको नेतृत्व नगरेसम्म देश अघि बढ्न नसक्ने बुझाइबाट निर्देशित हुनुपर्ने उनले बताए।
युवालाई विचार प्रतिपादनको मौका
नयाँ विचार युवाले बनाउनुपर्नेमा उनको जोड छ। किनभने हालसम्म निर्माण भएका विचारहरु हरेकले युवाअवस्थामै निर्माण गरेको उदाहरण उनी प्रस्तुत गर्छन्। ‘गौतम बुद्धले नयाँ विचार दिए, त्यो युवाअवस्थामै थियो। यहीँको नेपाली कांग्रेस हिँडिरहेको विचार विपी कोइरालाले युवा अवस्थामै सिर्जना गरेका हुन् र एमालेको बहुदलीय जनवाद मदन भण्डारीले युवा उमेरमै निर्माण गरेका हुन्। गणतन्त्रलाई अजेन्डा बनाएर शसस्त्र युद्ध गर्दा पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भ्ट्टराई युवा नै थिए,’ उनले उदाहरण दिए।
आफ्नो पार्टी अहिले वैकल्पिक विचार बनाउने अवस्थामा रहेको मेहता बताउँछन्। पार्टीको नेतृत्वमा पाको पुस्ता भएपनि पार्टीलाई सिद्धान्त र विचारले डाेर्याउने जिम्मा युवाकै रहेको उनी बताउँछन्। उनले भने, ‘देश वा वैकल्पिक शक्ति बनाउने काम पुरानो नेतृत्वलाई छोडिरहने अवस्था छैन। बनिबनाउ सिद्धान्तलाई आधार मानेको वृद्ध पुस्तासँगै युवा पनि छन्।’
वैकल्पिक विचार सहितको संगठन अहिलेको आवश्यकता रहेको उनले बताए। आफू आवद्ध दल (जसपा)को राजनीतिक दर्शनका विषयमा आफूहरु छलफलकै चरणमा रहेको उनले बताए। उनले भने, ‘हाम्रो रगत, जिनमा पूर्वीय दर्शन छ। त्यसको संष्लेषण गरेर राजनीतिक थ्यौरी दिन सकेका छैनौं। कुनै दल आए ती पुरै धार्मिक भएर आए। दर्शनको विषयमा छलफल गर्न सक्ने युवाले नै हो।’
नयाँ राजनीतिक विचार निर्माण गर्ने र त्यसअनुसार देशको नेतृत्व गर्ने अवसर आफ्नो पुस्तालाई रहेको उनको विश्लेषण छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।