काठमाडाैं– पाकिस्तानी अदालतले लोकप्रिय सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएको छ। अश्लील सामग्री फैलाएको भन्दै अदालतले प्रतिबन्ध लगाउन आदेश दिएको हो।
पेशावार हाईकोर्टका प्रधानन्यायाधीश कैसर रशीद खानले बहसको क्रममा बिहीबार टिकटकमा अपलोड गरिएका केही भिडियोहरू ‘पाकिस्तानी समाजको लागि अस्वीकार्य’ रहेको बताए।
अदालतलाई स्वीकार्य नहुने सामग्री नियन्त्रण नगरेसम्म प्रतिबन्ध लगाउन देशको इन्टरनेट नियामकलाई उनले आदेश दिए।
पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए)ले अदालतको आदेश पालन गर्ने प्रवक्ता खुर्रम मेहरानले अल जजीरालाई जानकारी दिए। यता टिकटकले अश्लिल साम्रगी नियमन गरिरहेको दाबी गरेको छ।
‘टिकटकले रचनात्मक अभिव्यक्तिको जग निर्माण गरेको छ, हामीले अनुपयुक्त सामग्री राख्न अनुमति दिने गरेका छैनौं,’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ।
अक्टुवरमा पीटीएले टिकटकलाई त्यस्तै आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो, उसले टिकटकले अनैतिक र अभद्र सामग्री फिल्टर गर्न असफल भएको जनाएको थियो।
तर त्यो प्रतिबन्ध दश दिन पनि टिक्न सकेन। पाकिस्तानी अधिकारीहरुलाई टिकटकको व्यवस्थापनले अश्लील र अनैतिकता फैलाउने सबै खाताहरुलाई बन्द गर्ने आश्वस्त पारेको थियो।
टिकटक एक छोटो भिडियो शेयर गर्ने प्लेटफर्म हो। दक्षिण एशियाली राष्ट्रमा २२ करोड प्रयोगकर्ता रहेको एप विश्लेषक फर्म सेन्सर टावरले जनाएको छ। तर मासिक सक्रियकर्ता प्रयोगकर्ताको संख्या भने २० करोड मात्रै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।