काठमाडौं– एपिएफका दिपेश धामी र नेपाल पुलिसका बिष्णु कटुवाल प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा प्रवेश गरेका छन्।
शुक्रबार सम्पन्न खेलमा दिपेशले सेनाका सन्तोष पनेरुलाई २१–१४, २१–१२ को सहज जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन्। त्यस्तै प्रतियोगिताका दोस्रो बरियता पाएका बिष्णुले सेनाका डेभिड थापामाथि २३–२५, २१–१९, २१–१७ को कठिन जित निकाले।
पुरुष एकलमा अन्तिम आठमा स्थान बनाउनेमा सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, सेनाका रुकेश महर्जन, भुपु सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल, सेनाका भोजबहादुर गुरुङ रहेका छन्। पविनले कैलालीका देवराज रानालाई २१–१६, १५–२१, २२–२० ले पराजित गरे।
जीवनले सेनाका गोकुल जोरालाई २१–१७, २१–१०, रुकेशले भुपु सैनिकका सुरज गुप्तालाई २१–१४, २१–१७, सहरोजले पुलिसका पूर्ण बहादुर थापालाई २१–१७, १८–२१, २१–१६, प्रिन्सले सेनाका आयुष्मान नागरीलाई २१–१६, २१–७ र भोजबहादुरले सुर्खेतका नरेन्द्र बमलाई २१–१४, २३–२१ ले पराजित गर्दै अन्तिम आठ पुगेका हुन्।
तारकेश्वर नगरपालिका १ सांलास्थित साइनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको महिला एकलतर्फ धादिङकी तारा आले र सेनाकी प्राथना देउवाले क्वाटरफाइनलमा स्थान बनाए। ताराले सेनाकी डेमोना केसीलाई २१–१०, २१–७ तथा प्राथनाले बुटवलकी प्रतिष्ठा अर्यालमाथि २१–६, २१–७ को सहज जित निकाले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।