काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अस्ट्राजेनिका कोरोना भाइरसविरुद्धको खोपमाथि शंका गर्न आवश्यक नभएको बताएको छ। कोरोनाविरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शंका गर्न आवश्यक नभएको संगठनले जनाएको हो।
डेनमार्क र नर्वे लगायत कतिपय युरोपेली देशहरूले यो खोप लगाउने कार्यक्रम स्थगित गरिसकेको छ। हालसम्म ५० लाखभन्दा बढी युरोपेली नागरिकले यो खोप लगाइसकेका छन्। तीमध्ये ३० जनामा रगत जम्ने समस्या देखिएको बताइएको छ।
तर डब्लुएचओको खोप सुझाव समितिले अस्ट्राजेनिका खोप उपयोगी नै रहेको, कुनै हानिकारक नरहेको र कुनै खतरा नदेखिएकाले निशंकोच लगाउन सुझाव दिएको छ।
‘अस्ट्राजेनिका खोप एकदमै राम्रो खोप हो, अरु कतिपय खोप भन्दा यो गुणस्तरीय छ’, जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका प्रवक्ता मार्गरेट हरिसले भने।
खोपको प्रयोग र परिणामसम्बन्धी विवरणहरुको आफूहरुले अध्ययन गरिरहेको समेत उनले जानकारी दिए। आफूहरुको अध्ययनमा खोपकै कारणले कसैको मृत्यु भएको पुष्टि नभएको पनि उनले बताए। अरु स्वास्थ्य निकायले पनि अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।