काठमाडाैं– अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोना महामारीबाट अमेरिकाले पहिलो र दोस्रो विश्व युद्धभन्दा बढी नागरिक गुमाएको बताएका छन्। अमेरिकामा कोरोना नियन्त्रणको लागि लकडाउन सुरु भएको एक वर्षको अवसरमा बोल्दै उनले ज्यान गुमाउनेको संख्या अधिक भएको बताएका हुन्।
शुक्रबार अमेरिकामा कोरोना भाइरस फैलिएको १ वर्षमा पुरा भएको छ। यही समयमा वाइडेनले देशवासीलाई सम्बोधन गरेका थिए।
वाइडेनले भने, ‘मसँग कोरोनाको कारण मरेका व्यक्तिहरूको तथ्याङ्क छ। अमेरिकामा हालसम्म ५ लाख २७ हजारभन्दा बढीकाे मृत्यु भएको छ। यो आंकडा पहिलो, दोस्रो विश्व युद्ध र भियतनाम युद्धभन्दा उच्च हो।’
उनले लापरबाहीका कारण पनि ज्यान गुमाउनेको संख्या बढेको बताए। ‘यो भाइरसले हामीलाई धेरै चोट पुर्यायो। हामीले बेवास्ता गर्यौं। लापरबाहीको कारण धेरै मृत्यु भयो। हामी सबैले यस भाइरसको कारण केही गुमायौं। यसलाई सामूहिक रुपमा भएको बलिदान मान्न सकिन्छ,’ उनले भने।
राष्ट्रपति वाइडनले आगामी जुलाई ४ मा कोरोना भाइरसबाट मुक्त भएको अवसरमा स्वतन्त्रता दिवस बनाउने योजना रहेको पनि बताएका छन्।
‘यदि हामी सबैले खोप लगाउँछौं भने ४ जुलाईसम्म तपाईंका लागि एउटा राम्रो मौका छ,’ उनले भने, ‘आफ्नो परिवार र साथीभाइलाई भेट्न सक्नुहुन्छ र स्वतन्त्रता दिवस मनाउन सक्नुहुन्छ।’
उनले आगामी मे १ सम्ममा अमेरिकाका सबै राज्यका वयस्क नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाउन निर्देशन दिएको बताए। यो योजनाले जुलाई ४ सम्म अमेरिका सामान्य अवस्थामा फर्किने उनको भनाइ थियो।
यसअघि उनले कोरोना राहतको लागि १९ खर्ब डलरको प्याकेजमा हस्ताक्षर गरेका थिए।अब कोरोनाबाट अमेरिकी नागरिकहरुलाई थप पीडा नहुने राष्ट्रपति वाइडनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।