काठमाडाैं– थाइल्याण्डले अक्सफर्ड–आस्ट्राजेनेकाको काेराेना भाइरसविरुद्धकाे खोप लगाउने कार्यक्रम स्थगित गरेको छ। थाइल्याण्डका प्रधानमन्त्रीले खोप लगाउने कार्यको आज (शुक्रबार) उद्घाटन गर्ने कार्यक्रम थियो। तर मानिसहरुमा रगत जम्ने खतरा बढाएको विवरण सार्वजनिक भएपछि खोप लगाउने कार्यक्रम स्थगित गरेको हो।
यसअघि डेनमार्क र नर्वे लगायत कतिपय युरोपेली देशहरूले यो खोप लगाउने कार्यक्रम स्थगित गरिसकेका छन्। हालसम्म ५० लाखभन्दा बढी युरोपेली नागरिकले यो खोप लगाइसकेका छन्। तीमध्ये ३० जनामा रगत जम्ने समस्या देखिएको बताइएको छ।
युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत नभएको स्पष्ट पारेको छ। खोप लगाएका र नलगाएका मानिसमा त्यस्तो खतराको जोखिमस्तर उत्तिकै रहेको दाबी पनि नियामक निकायले गरेको छ।
‘खोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै संकेत प्राप्त भएको छैन। खोपको साइड इफेक्टमा यी सूचीकृत छैनन्,’ युरोपेली मेडिसिन्स एजेन्सी (इएमए)ले बिहीवार जनाएको छ, ‘खोपको फाइदा यसका सम्भाव्य जोखिमभन्दा निकै धेरै छ।’
यो खोप लिएपछि इटालीमा एकजना ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर मृत्यु भएको विवरण पनि सार्वजनिक भएको थियो।तर नियामक निकायले भने खोपकै कारण ती समस्या आएका हुन् भन्ने कुनै प्रमाण नरहेको बताएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।