काठमाडाैं– संयुक्त राष्ट्रसंघले म्यानमारमा सैन्य 'कू' पश्चात भएकाे प्रदर्शनमा कम्तीमा ७० जनाको हत्या भएकाे दाबी गरेकाे छ। गत फेब्रुअरी १ मा सेनाले सत्ता आफ्नो हातमा लिएसँगै म्यानमारमा निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ। उक्त प्रदर्शनमा मारिएकामध्ये आधाभन्दा धेरै २५ वर्षभन्दा कम उमेरकाे रहेकाे संयुक्त राष्ट्रसंघका लागि म्यानमारका विशेष दूत थोमस एन्ड्र्युजले जानकारी दिएका छन्।
'म्यानमारमा मानवताविरुद्धको अपराधका प्रमाणहरु बढिरहेको छ। सेनाले प्रदर्शनमा सहभागी हुनेको हत्या गर्ने, यातना दिने र ज्यादती गर्ने गरेकाे पाइएकाे छ,' मानव अधिकार अनुसन्धानकर्ता एन्ड्र्युजले बिहीबार संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदमा बोल्दै भने।
अहिलेसम्म प्रदर्शनको क्रममा दुई हजारभन्दा धेरै मानिसहरु पक्राउ परिसकेका छन्। साथै म्यानमारमा निरन्तर हिंसा पनि बढिरहेको छ।
'भिडियोमा सुरक्षाकर्मीहरुले प्रदर्शनकारी, उपचार सेवा दिइरहेका मानिसहरु र उद्धारका लागि तयारी अवस्थामा रहेका मानिसहरुलाई निर्मम तरिकाले कुटपिट गरेको देखिएको छ। त्यस्तै मानिसहरुको घरघरमा छिर्दै प्रहरीले गोली चलाउने गरेको देखिएकाे छ,' एन्ड्र्युजले भने।
म्यानमारको सेनाले भने एन्ड्र्युजले लगाएको आरोप खण्डन गरेको छ। सेनाले हिंसात्मक प्रदर्शनकारीहरुलाई शान्त गराउने प्रयास मात्र गरेको दाबी गरेको छ।
'अहिले म्यानमार निकै जटिल चुनौतीको सामना गरिरहेको छ। सेनाले कहिले पनि प्रजातान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्न नचाहेको छैन। सेनाले मुलुकको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र सामाजिक स्थायित्व कायम राख्ने प्रयास गरिरहेको छ,' सैनिक सरकारको विदेशमन्त्रालयले पठाएको एक भिडियो सन्देशमा भनिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।