फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जसपाको मागमा सरकार सकारात्मक भएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरु जसपासँग निरन्तर कुराकानीमा रहेको खुलाए।
उनले जसपासँग सत्ता साझेदारीका लागि कार्यदल नबनेको पनि स्पष्ट पारे। 'जसपासँग हामी निरन्तर कुराकानीमा छौं। तपाईंहरुको जानकारीको लागि, आजै पनि संसद् बैठकमा आउनुभन्दा अगाडि उहाँहरुसँग छलफल भएको थियो। र, अहिले विशेषतः उहाँहरु रेशम चौधरी लगायत मधेश आन्दोलनका सन्दर्भमा भएका मुद्दा मामिलाहरु छन्, त्यसको बारेमा उहाँहरु गम्भीर हुनुहुन्छ। त्यसलाई फिर्ता गर्नुपर्यो, रिहाइ गर्नुपर्यो भनेर उहाँहरुले माग गरिराख्नुभएको छ। त्यसबारेमा सरकार सकारात्मक छ, गम्भीर छ भनेर हामीले भनेका छौं', उनले भने।
उनले आफूहरु कानुन बमोजिम अगाडि बढ्ने बताए। नेम्वाङले समयमै प्रतिनिधि सभाको बैठक सुरु नभएको, प्रधानमन्त्रीको अरु काम पनि भएको र आजको बैठक एकदम औपचारिक मात्रै हो भन्ने जानकारी भएकाले प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नभएको जानकारी दिए।
बुधबारको बैठक सुरु हुनुभन्दा केही समयअघि संसद् भवन पुगेका प्रधानमन्त्री ओली केहीबेर बसेर बाहिरिएका थिए। नेम्वाङले झलनाथ खनाल र माधवकुमार नेपालहरुलाई सम्मानजनक ढंगले व्यवहार हुने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।